सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ

विज्ञापन
ncell

मंगलवार राष्ट्रिय सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उत्पादित विद्युत खेर जान नदिन दिगो आपूर्ति सुनिश्चित गर्न लागि परेको पनि बताए ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको बताएका छन् ।

विद्युत खपत बढाउन पनि सरकारले उक्त नीतिलाई स्पष्ट रुपमा अघि बढाएको मन्त्री श्रेष्ठको भनाई थियो । मंगलवार राष्ट्रिय सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उत्पादित विद्युत खेर जान नदिन दिगो आपूर्ति सुनिश्चित गर्न लागि परेको पनि बताए । मन्त्री श्रेष्ठले आन्तरिक विद्युत खपत उल्लेख्य रुपमा बढाउने सरकारको योजना रहेको पनि बताए ।

उनले भने ,‘अब विद्युत उत्पादन मात्रै होइन, खपतलाई पहिलो प्राथमिकता दिई निर्यातमा जोड दिने बेला आएको छ । तसर्थ हामीले ऊर्जा खपत नीति तथा निर्यात रणनीति २०८३ कार्यान्वयनमा ल्याई आन्तरिक विद्युत खपत उल्लेख्य रुपमा बढाउने तथा वर्षायाममा बचत हुने विद्युतलाई अन्तरदेशीय प्रशारण लाईनमार्फत क्षेत्रीय बजारमा निर्यात गर्ने स्पष्ट नीति लिएका छौँ । उत्पादित विद्युत खेर जान नदिन दीगो आपूर्ति सुनिश्चित गर्न सरकारले उत्पादन भन्दा बढी प्रशारण र वितरण प्रणाली सुदुढिकरणमा जोड दिएको छ । त्यस्तै अब निजी क्षेत्रले पनि विद्युत विक्री वितरण गर्न पाउने भएका छन् ।’

मन्त्री श्रेष्ठले वर्षायाममा हुने वचत विद्युतलाई अन्तरदेशीय प्रशारण लाइनमार्फत क्षेत्रीय बजारहरुमा निर्यात गर्न लागिएको पनि बताए। उनले सरकारले निजी क्षेत्रले पनि विद्युत विक्रीवितरण गर्न पाउने व्यवस्था गरेको दाबी समेत गरे ।