नेपालबाट १६५० मेगावाट विद्युत लैजान भारत तयार, यस्ता छन् ऊर्जा सचिवस्तरीय बैठकका सहमति
अन्तरदेशीय प्रसारण लाइनहरूको अध्ययन तथा निर्माणलाई गति दिने सहमति
सचिवस्तरीय बैठकले चमेलिया (नेपाल) देखि धौलीगंगा (भारत) सम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ ।
काठमाडौं । नेपालबाट १६५० मेगावाट विद्युत लैजानन भारतले सहमति जनाएको छ । दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतले नेपालबाट थप विद्युत लैजान सहमति जनाएो हो । अब भारतले थप ५५० मेगावाट विद्युत लैजाने छ ।
नयाँ सहमतिसँगै वर्षायाममा नेपालमा बिजुली खेर जाने समस्या समाधानमा सहयोग पुग्नेछ । अहिले भारतले वर्षायाममा ११०० मेगावाट विद्युत लैजाने गरेको छ । त्यसैगरि सुक्खायाममा नेपाललाई थप ४०० मेगावाट बिजुली दिन भारत तयार भएको छ । हाल भारतबाट १००० मेगावाट बिजुली आयात गर्ने अनुमति रहेकामा अब १४०० मेगावाटसम्म आयात गर्न पाईने गरि सहमति भएको हो ।
दुई देशका ऊर्जा सचिवको बुधबार पोखरामा बसेको बैठकले हाल सञ्चालनमा रहेको ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट भइरहेको विद्युत आयात-निर्यातको समीक्षासमेत गरिएको छ ।
बैठकको अध्यक्षता ऊर्जा सचिव सरिता दवाडीले गरेकी थिइन् भने भारतीय टोलीको नेतृत्व त्यहाँको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालले गरेका थिए । त्यसअघि सहसचिवस्तरीय संयुक्त कार्यदलको वैठक मंगलबार बसेको थियो । सोही बैठकले गरेका सिफारिसका आधारमा भारतले नेपालबाट थप बिजुली लैजान सहमति दिएको जनाएको छ ।
सचिवस्तरीय बैठकले चमेलिया (नेपाल) देखि धौलीगंगा (भारत) सम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेको छ । यो आयोजना सन् २०२८ को डिसेम्बरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
बैठकमा दुई देशबीचको सीमापार विद्युत् प्रसारण पूर्वाधारको सुदृढीकरण, विस्तार, विद्युत् व्यापारमा सहजीकरण तथा विगतका द्विपक्षीय सहमति र समझदारीहरूको कार्यान्वयन समीक्षाका विषयमा समेत छलफल भएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति
