अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विज्ञापन
ncell

पुँजीगत खर्च र राजस्वको लक्ष्यलाई विश्वसनीय बनाउन सरकार लागिपरेको भन्दै अर्थमन्त्री वाग्लेले आन्तरिक राजश्व विभाग र भन्सार प्रशासनमा व्यापक सुधार, नेतृत्व परिवर्तन र पूर्ण डिजिटलाइजेसनमार्फत राजस्वको लक्ष्य हासिल गरिने छ ।

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा मोड्ने कार्यको सफल शुरुवात गरेको बताएका छन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकमा अर्थमन्त्री वाग्लेले आगामी वर्षहरूमा अर्थतन्त्रलाई तिब्रता दिने र यसका प्रतिफलहरू जनतासम्म पुर्‍याउने बताए । अर्थतन्त्रलाई एक विशाल जहाजको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले चालु वर्षमा यसलाई नयाँ दिशातर्फ मोड्ने चुनौतीपूर्ण कार्य सम्पन्न भएको दावी गरे । 

अर्थमन्त्री वाग्लेकाअनुसार आगामी दोस्रो र तेस्रो वर्षमा अर्थतन्त्रलाई गति प्रदान गरिनेछ भने चौथो र पाँचौँ वर्षमा गरिएका सुधारहरूबाट प्राप्त लाभलाई नेपाली जनतामाझ वितरण गरिनेछ । सरकारको पाँच वर्षको स्पष्ट ‘भिजन’ र पाँचवटै बजेटको मूल उद्देश्य रहेको वाग्लेको भनाई छ । सुशासन सरकारको प्राथमिक कार्यसूची रहेको भन्दै अर्थमन्त्री वाग्लेले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिलाई कडा रूपमा लागू गरिने प्रतिवद्धता जनाए । बजेट निर्माण राम्रो हुने तर कार्यान्वयन पक्ष फितलो हुने विगतको प्रवृत्तिलाई चालू वर्ष चिरिने वाग्लेको दावी छ । 

पुँजीगत खर्च र राजस्वको लक्ष्यलाई विश्वसनीय बनाउन सरकार लागिपरेको भन्दै अर्थमन्त्री वाग्लेले आन्तरिक राजश्व विभाग र भन्सार प्रशासनमा व्यापक सुधार, नेतृत्व परिवर्तन र पूर्ण डिजिटलाइजेसनमार्फत राजस्वको लक्ष्य हासिल गरिने दाबी गरे । केवल बजेटको सरकारी खर्चले मात्र अर्थतन्त्र नचल्ने बताउँदै अर्थमन्त्री वाग्लेले ५० खर्बभन्दा बढीको निजी क्षेत्रको हिस्सालाई चलायमान बनाउन कानूनी र संरचनात्मक सुधारमा जोड दिए । कानूनी सुधारका लागि ठूलो बजेट नचाहिने तर यसले निजी पुँजीको आकर्षण र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने पनि अर्थमन्त्री वाग्लेको भनाई छ । 

अनुभवी कर्मचारीतन्त्रको साथविना सुधार सम्भव नभएको स्वीकार गर्दै अर्थमन्त्री वाग्लेले कर्मचारीहरूलाई प्रोत्साहित गर्ने नीति लिइने बताए । विगत तीन महिनामा कामको चाप र दबाब बढेको भएपनि त्यसको मुख्य उद्देश्य जनताका गुनासोहरूलाई चाँडो सम्बोधन गर्नुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिए ।