सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, प्रत्येक नेपालीको थाप्लोमा १ लाख २ हजार रुपैयाँ ऋण भार

विज्ञापन
ncell

गत आर्थिक वर्षमा सार्वजनिक ऋणको खुद परिचालन १ खर्ब ३३ अर्ब ८५ करोड रुपैयाँ

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.७७ प्रतिशत छ भने आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत छ ।

काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण दायित्व २०८३ असारसम्म २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । पछिल्लो एक वर्ष अर्थात् आर्थिक वर्ष २०८२/८३ मा मात्रै सरकारको ऋण दायित्व ३ खर्ब ८५ करोड रुपैयाँले वृद्धि भएको हो । सरकारको बढ्दो खर्च, कमजोर राजस्व संकलन, बजेट घाटा र विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण सार्वजनिक ऋण उकालो लागेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ अर्थात् २०८२ असारमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.७७ प्रतिशत छ भने आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत छ । असारसम्म बाह्य ऋण दायित्व १५ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ पुग्दा आन्तरिक ऋण १३ खर्ब ७५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

सरकारले गत आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा ४ खर्ब ४७ अर्ब १८ करोड रुपैयाँ मात्र ऋण परिचालन गरेको छ । जुन वार्षिक लक्ष्यको ७५.०७ प्रतिशत हो । लक्ष्यअनुसार आन्तरिक ऋण परिचालन ९९.०८ प्रतिशत भएको छ भने बाह्य ऋण परिचालन ३७.८८ प्रतिशत मात्र भएको छ । गत वर्ष प्राप्त कुल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८०.२१ प्रतिशत र बाह्य ऋणको हिस्सा १९.७९ प्रतिशत मात्र छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानीमा सरकारको खर्च पनि उल्लेख्य भएको छ । गत वर्ष सरकारले ३ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ ऋणको सावाँ र ब्याज तिर्नमा खर्च गरेको छ । जुन विनियोजित बजेटको ९३.९७ प्रतिशत हो । भुक्तानीमध्ये आन्तरिक ऋणतर्फ ३ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ र बाह्य ऋणतर्फ ७४ अर्ब २८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी पछिल्लो एक वर्षको अवधिमा सार्वजनिक ऋणको खुद परिचालन १ खर्ब ३३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।

हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५.०७ प्रतिशत बराबर हो । सार्वजनिक ऋणको बृद्धिसँगै नेपालीको थाप्लोमा वर्षेनी ऋणको भार पनि थपिँदै गएको छ । गत आर्थिक वर्ष २०८२/८३ सम्म प्रत्येक नेपालीको थाप्लोमा १ लाख २ हजार ३ रुपैयाँ ऋण भार पुगेको छ ।

प्रकाशन भएका दस्तावेजहरू

6a60db54b8778_1784732500.pdf