एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवद्र्धनलाई प्राथमिकता दिने घोषणा
डीन वैद्यले नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा एचसीसीएनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौं । व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इण्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संस्था ‘अनररी कन्सुलर कर्प्स नेपाल’ (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो । यसअघि बुल्गेरियाका लागि नेपालस्थित भोला थापा यसको डीन थिए ।
सम्मेलनले एचसीसीएनको भाइस डीनमा पासाङ दावा शेर्पालाई चयन गरेको छ। नेपालको औद्योगिक क्षेत्रमा लामो योगदान र अनुभव बटुलेका वैद्यको ६ दशकभन्दा पुरानो व्यापारिक घराना वैद्य अर्गनाइजेसन टोयोटा गाडीको आधिकारिक विक्रेताका रूपमा लामो समयदेखि रहँदै आएको छ । ग्रुपले अटोसँगै सिमेन्ट, हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।
डीन वैद्यले नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा एचसीसीएनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफ्नो कार्यकालको योजना प्रस्तुत गर्दै वैद्यले एचसीसीएनलाई केवल एउटा ‘क्लब’ को रूपमा मात्र नभई मुलुकको विकासका लागि जिम्मेवार संस्थाका रूपमा अघि बढाउने बताए । वैद्यले वर्तमान सरकारले अघि सारेको ‘आर्थिक कूटनीति’ को अवधारणालाई सफल पार्न एचसीसीएनले सरकारसँग काँधमा काँध मिलाएर काम गर्ने बताए। दक्षिण एशियामा नेपालको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अवस्था न्यून रहेकोप्रति चासो व्यक्त गर्दै उनले लगानीकर्ताहरूलाई नेपाल सुरक्षित गन्तव्य हो भनेर आश्वस्त पार्न एचसीसीएनले सक्रिय भुमिका खेल्ने उल्लेख गरे।
अवैतनिक वाणिज्यदूतहरूलाई हेर्ने सार्वजनिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै उनले संस्थाभित्र व्यावसायिक विकास र तालिमका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए। उनले वाणिज्यदूतहरूको भूमिका सुविधा र ‘निलो नम्बर प्लेट’ मा मात्र सीमित नभई उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा निर्वाह गरेको भूमिका र नेपालले प्राप्त गरेको सम्मानका बारेमा जनस्तरमा जानकारी गराउनु आवश्यक रहेको बताए ।
आफ्नो कार्यकालभित्रै युरोपका विभिन्न देशहरूमा नेपालको प्रवर्धनका लागि ‘रोड शो’ आयोजना गर्ने लक्ष्य उनको छ । कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार र आर्थिक कूटनीतिलाई मजबुत बनाउन अवैतनिक वाणिज्यदुतहरूको भूमिका महत्वपूर्ण हुने बताए। मन्त्री खनालले नेपाल र सम्बन्धित मुलुकहरूबीचको सम्बन्ध सेतुका रूपमा कार्य गर्न उनीहरूलाई आग्रह गरे । मन्त्री खनालले खासगरी नेपालमा आवासीय कूटनीतिक नियोगहरू नभएका मुलुकहरूसँगको व्यावसायिक, सांस्कृतिक र संस्थागत सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतहरूले पुर्याएको योगदानको प्रशंसा गरे ।
