‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’

विज्ञापन
ncell

सडक सञ्चालनमा आएपछि स्थानीय उत्पादनले सहज रूपमा बजार पाउन थालेको छ । गाउँमा उत्पादन हुने तरकारी, फलफूल तथा अन्य कृषि उपज केही घण्टामै सिन्धुली, बनेपा, काठमाडौंसम्म पुग्न थालेका छन् ।

काठमाडौँ । वर्षौंदेखि दुर्गमताको पर्याय बनेको सिन्धुलीको घ्याङलेख गाउँपालिका अहिले विकासको नयाँ यात्रामा अघि बढेको छ । 

पिपलडाँडा-हायूटार-रामपुर सडक कालोपत्रे भएसँगै स्थानीयवासीको जीवनशैलीमा परिवर्तन आएको छ । सहज यातायातको पहुँचले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका सम्भावनालाई नयाँ उचाई दिएको छ । विगतका समयमा यहाँ नुनदेखि सुनसम्मका सामान पिठ्युँमा बोकेर गाउँ पुर्‍याउनुपर्ने बाध्यता थियो । वर्षायाम लागेपछि सडक अवरुद्ध हुँदा गाउँ र सदरमुकामबीचको सम्पर्क नै टुट्ने अवस्था रहन्थ्यो । विशेषगरी बीपी राजमार्गबाट घ्याङलेख गाउँपालिका भवनसम्म जोड्ने मुख्य सडक नै कच्ची, साँघुरो र अत्यन्तै दुर्गम भएकाले गाउँपालिका पुग्न स्थानीयले निकै सास्ती व्यहोर्नुपथ्र्यो । सेवाग्राही, कर्मचारी तथा जनप्रतिनिधिसमेत वर्षायाममा आवतजावत गर्न कठिनाइमा पर्ने गर्दथे । तर अहिले कालोपत्रे सडकले त्यो कठिन विगतलाई इतिहासमा परिणत गरिदिएको छ । घ्याङलेख गाउँपालिका-२ का ७८ वर्षीय विन्द्रे स्याङ्तान सडकले गाउँको मुहार फेरिदिएको बताए । युवावस्थामा दैनिक उपभोग्य सामग्री पिठ्युँमा बोकेर गाउँ-शहर धाउनुपरेको सम्झँदै उनले अहिले सवारी साधन गाउँमै पुग्दा जीवन निकै सहज बनेको सुनाए । उनकाअनुसार सडकले केवल यात्रा छोट्याएको छैन, गाउँलेको भविष्य पनि उज्यालो बनाएको छ । 

बाग्मती प्रदेश सरकारले प्रदेशभित्रका २५० वटा सडकलाई प्रादेशिक लोकमार्ग र प्रादेशिक मार्गका रूपमा वर्गीकरण गरी निर्माण तथा विस्तार प्रक्रियालाई तिब्रता दिएको छ । कूल ६ हजार ३ सय ५० किलोमिटर लम्बाई रहेका यी सडकहरूलाई प्रदेश सरकारको मुख्य कार्यक्षेत्रभित्र राखी प्राथमिकताका साथ काम अघि बढाइएको हो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाकाअनुसार प्रदेश सरकारले विशेषगरी स्थानीय तहका केन्द्र जोड्ने, एक प्रादेशिक राजमार्गबाट अर्कोलाई जोड्ने र राष्ट्रिय राजमार्गबाट प्रदेशका मुख्य क्षेत्र जोड्ने उच्च सवारी चाप भएका सडकहरूलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकार स्थापना भएयता सडक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको मन्त्रालयको दाबी छ । प्रदेशका १ सय १९ स्थानीय तहमध्ये अब ३० वटा स्थानीय तहका केन्द्र मात्र पक्की सडकले जोडिन बाँकी छन् । यी केन्द्रहरूलाई जोड्न अब केवल ३०५ किलोमिटर सडक र ९ वटा पुल निर्माण गर्न बाँकी रहेको र यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको सचिव मरहट्टाले जानकारी दिए । यद्यपि, सडक निर्माणले मात्र नागरिकको जीवनस्तरमा ठोस परिवर्तन नआएको अध्ययनले देखाएपछि प्रदेश सरकारले आफ्नो नीतिमा परिमार्जन गरेको छ ।

मन्त्रालयकाअनुसार सिन्धुलीको घ्याङलेख, सिन्धुपाल्चोकको पाँचपोखरी, धादिङको रुबी भ्याली र मकवानपुरको राक्सिराङ गाउँपालिकालाई विशेष प्राथमिकतामा राखी काम भइरहेको छ । यी क्षेत्रमा स्थानीय तहको केन्द्रदेखि वडासम्मको सडक सञ्जाल विस्तार गर्ने र सडकलाई प्रत्यक्ष रूपमा जनताको जीविकोपार्जन र उद्यमशीलतासँग जोड्ने प्रदेश सरकारको लक्ष्य रहेको छ । 

जिल्लाको सडक पूर्वाधार विकासमा मुख्य मार्गहरूको स्तरोन्नति र विस्तारलाई आफूले पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जगतबहादुर भ्लोनले बताए । जिल्लाको विकास रणनीतिका बारेमा चर्चा गर्दै प्रमुख सापकोटाले गाउँका भित्री सडकहरूभन्दा पनि रणनीतिक महत्वका मुख्य सडकहरूलाई पूर्णता दिनु आवश्यक रहेको उल्लेख गरे । 

पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाले वागमती प्रदेश सरकारले गाउँपालिकाका केन्द्रहरूलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई विशेष प्राथमिकता दिँदै पूर्वाधार विकासका कार्यक्रमहरू अगाडि बढाएको बताए। सिन्धुली जिल्लाका दुर्गम मानिने गाउँपालिकाका केन्द्रसम्म पक्की सडक पुर्‍याउने लक्ष्यका साथ निर्माण कार्य तिब्र पारिएको छ । सापकोटाकाअनुसार प्रादेशिक सडक यातायात गुरुयोजना अन्तर्गत वागमती प्रदेश सरकारले स्वीकृत गरेको ३७ किलोमिटर लामो ‘पिपलभञ्ज्याङ-हायुटर-रामपुर सडक’ को निर्माण कार्य विभिन्न चरणमा अघि बढेको छ । उक्त गुरुयोजना अन्तर्गतको १२.८ किलोमिटर लामो पिपलभञ्ज्याङ-सिम्ले सडकखण्ड यसअघि नै निर्माण सम्पन्न भइसकेको छ । 

श्री माध्यमिक विद्यालयका शिक्षक मिलन रानामगर २०७१ साल साउन २७ गते नियुक्ति भएपछि भदौ २ गते पहिलोपटक विद्यालय गएका थिए । त्यस समयमा सडकको ट्रयाक भर्खरै खुलेको र यातायातको सुविधा अत्यन्तै न्युन रहेको उनले स्मरण गरे । ‘पिपल’ क्षेत्रभन्दा अगाडि सवारी साधन नचल्ने भएकाले हातमा झोला बोकेर, पहिरो छिचोल्दै पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले बताए । सिमलेको तेर्सो क्षेत्रमा गएको पहिरो र हिलो छिचोल्दै दिउँसो ३ बजे मात्र विद्यालय पुगेर हाजिर भएको अनुभव उनले सुनाए ।

सडक सञ्चालनमा आएपछि स्थानीय उत्पादनले सहज रूपमा बजार पाउन थालेको छ । गाउँमा उत्पादन हुने तरकारी, फलफूल तथा अन्य कृषि उपज केही घण्टामै सिन्धुली, बनेपा, काठमाडौंसम्म पुग्न थालेका छन् । ढुवानी लागत घटेपछि किसानको आम्दानी बढेको छ भने व्यावसायिक कृषि र पशुपालनप्रति आकर्षण पनि उल्लेखनीय रूपमा वृद्धि भएको स्थानीय बताउँछन् । गाउँपालिका र हेफर इन्टरनेसनलको सहयोगमा स्थानीयहरू व्यावसायिक बाख्रापालन तथा तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सडकले बजारसँगको पहुँच बढाएपछि जीविकोपार्जनमुखी कृषि आयआर्जनमुखी व्यवसायमा रूपान्तरण हुन थालेको छ । सडकको पहुँचले शिक्षामा समेत सकारात्मक प्रभाव पारेको छ । विगतमा वर्षायाममा विद्यालय पुग्न कठिनाइ भोग्ने शिक्षक र विद्यार्थी अहिले नियमित रूपमा विद्यालय आउजाउ गर्न थालेका छन् । स्वास्थ्य सेवा लिन पनि स्थानीयले लामो सास्ती व्यहोर्नुपर्ने अवस्था हट्दै गएको छ । गाउँपालिका भवनसम्म सहज पहुँच भएपछि प्रशासनिक सेवा लिन आउने स्थानीयलाई ठूलो राहत पुगेको छ । यो परिवर्तन वागमती प्रदेश सरकारको पूर्वाधार विकास नीतिको उपज हो । राज्य पुनर्संरचनापछि प्रदेश सरकारले आफ्नो क्षेत्रभित्रका १ सय १९ स्थानीय तहलाई पालिका केन्द्रबाट राष्ट्रिय राजमार्ग तथा जिल्ला सदरमुकामसँग सहज रूपमा जोड्ने लक्ष्यसहित प्रदेश सडक गुरुयोजना कार्यान्वयनमा ल्याएको थियो । प्रदेश सार्वजनिक सडक ऐन, २०७८ बमोजिम वर्गीकरण गरिएका प्रदेश लोकमार्ग र प्रदेश मार्गअन्तर्गत पिपलडाँडा-हायूटार-रामपुर सडक पनि प्राथमिकतामा परेको आयोजना हो । घ्याङलेख गाउँपालिकाका पाँचवटै वडालाई जोड्ने यस सडकको कुल लम्बाई ३७ किलोमिटर रहेको छ । हालसम्म २९.३ किलोमिटर सडक कालोपत्रे तथा ढलान सम्पन्न भइसकेको छ भने पाँचमध्ये तीन वटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् । सडकसँगै घ्याङलेखमा पर्यटनका सम्भावना पनि विस्तार हुन थालेका छन् । बुरा बराजु मन्दिर, हापाचुली डाँडा तथा निर्माणाधीन बौद्ध विश्वविद्यालयजस्ता गन्तव्यमा आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउन गाउँमा होमस्टे तथा व्यावसायिक कृषि कार्यक्रम सञ्चालन भइरहेका छन् । स्थानीयकाअनुसार सडकले बजार मात्र जोडेको छैन, घ्याङलेखको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई चिनाउने अवसर सिर्जना गरेको छ ।