बेबी पाउडरबाट क्यान्सर प्रकरणमा जोन्सन एन्ड जोन्सनले ५ अर्ब ५० करोड डलर क्षतिपूर्ति दिन प्रस्ताव

विज्ञापन
ncell

अमेरिकी स्वास्थ्य सामग्री उत्पादक कम्पनी जोन्सन एन्ड जोन्सनले बेबी पाउडरसहित टाल्कयुक्त उत्पादनका कारण डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरिएका हजारौँ मुद्दा टुंग्याउन अधिकतम ५ अर्ब ५० करोड अमेरिकी डलर क्षतिपूर्ति दिन प्रस्ताव गरेको छ ।

काठमाडौँ । अमेरिकी स्वास्थ्य सामग्री उत्पादक कम्पनी जोन्सन एन्ड जोन्सनले बेबी पाउडरसहित टाल्कयुक्त उत्पादनका कारण डिम्बाशयको क्यान्सर भएको दाबी गर्दै दायर गरिएका हजारौँ मुद्दा टुंग्याउन अधिकतम ५ अर्ब ५० करोड अमेरिकी डलर क्षतिपूर्ति दिन प्रस्ताव गरेको छ ।

न्यु जर्सीस्थित कम्पनीले लामो समयदेखि अदालतमा चलिरहेको कानुनी विवाद अन्त्य गर्ने उद्देश्यले उक्त प्रस्ताव अघि सारेको हो । कम्पनीका अनुसार यो सम्झौताले करिब ६९ हजार टाल्कसम्बन्धी बाँकी अधिकांश मुद्दा समेट्नेछ ।

कम्पनीले आगामी वर्ष ३ अर्ब अमेरिकी डलर सम्म भुक्तानी गर्ने र सन् २०२८ अघि थप रकम तिर्नु नपर्ने जनाएको छ । तर, यो प्रस्ताव अन्तिम रूपमा लागू हुन राज्य तथा सङ्घीय अदालतमा रहेका डिम्बाशयको क्यान्सरसँग सम्बन्धित ९५ प्रतिशत दाबी गर्ने पक्षका कानुनी प्रतिनिधिहरूको सहमति आवश्यक पर्ने बताइएको छ ।

कम्पनीका उपाध्यक्ष एरिक हासले आरोपहरू आधारहीन रहेको दाबी गर्दै कम्पनीले कुनै गल्ती स्वीकार नगरी विवाद अन्त्यका लागि सम्झौताको बाटो रोजेको बताएका छन् । उनका अनुसार कम्पनी अदालतमा गएका अधिकांश मुद्दामा सफल भएको र बाँकी मुद्दामा पनि अन्ततः जित्नेमा विश्वस्त थियो ।

बेबी पाउडरमा प्रयोग हुने टाल्क म्याग्नेसियम, सिलिकन, अक्सिजन र हाइड्रोजनबाट बनेको प्राकृतिक खनिज हो। यसको नरम र चिल्लो गुणका कारण लामो समयदेखि बेबी पाउडरमा प्रयोग हुँदै आएको छ ।

यद्यपि, उपभोक्ता र उनीहरूका परिवारले टाल्कमा क्यान्सर गराउने एस्बेस्टस मिसिएको हुन सक्ने दाबी गर्दै सन् २००९ देखि कम्पनीविरुद्ध मुद्दा दायर गर्न थालेका थिए । एस्बेस्टस क्यान्सर गराउने पदार्थका रूपमा चिनिन्छ र टाल्क निकालिने खानी नजिकै पाइने भएकाले दूषित हुने जोखिम रहेको आरोप लगाइएको छ ।

कम्पनीले भने आफ्नो टाल्कयुक्त उत्पादन सुरक्षित रहेको, त्यसमा एस्बेस्टस नभएको र क्यान्सर नहुने कुरा विभिन्न अध्ययनले पुष्टि गरेको दाबी गर्दै आएको छ ।

यसैबीच, सन् २०२२ मा जोन्सन एन्ड जोन्सनले विश्वभर टाल्कयुक्त बेबी पाउडरको उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरेको थियो । त्यसअघि नै अमेरिकामा उक्त उत्पादनको बिक्री रोकिएको थियो । कम्पनीले त्यसबेला विश्वव्यापी उत्पादन रणनीतिअनुसार टाल्कको सट्टा मकैको स्टार्चबाट बनाइने बेबी पाउडर मात्रै उत्पादन गर्ने निर्णय गरिएको जनाएको थियो ।