लघुवित्त पीडितको सामुहिक आमरण अनसन शुक्रबार पनि जारी
आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभुति हुनुपर्ने भन्दै सरकारसमक्ष विभिन्न मागहरू अघि सारेका छन् ।
विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माईतीघर मण्डलामा सुरु गरेको सामुहिक आमरण अनसन शुक्रबार पनि जारी रहेको छ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति’को नेतृत्वमा मङ्गलबारदेखि उक्त अनसन सुरु भएको हो । आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्याभुति हुनुपर्ने भन्दै सरकारसमक्ष विभिन्न मागहरू अघि सारेका छन् ।
उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका छन् ।
सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई लघुवित्त पीडितका समस्या समाधान गर्ने सहमतिलाई कार्यान्वयन गर्न परमादेश दिएको थियो ।सर्वोच्चले फैसला कार्यान्वयनको निर्देशन समेत दिइसकेको अवस्था हुँदा पनि सरकारले चासो नदेखाएपछि पीडित आन्दोलनमा उत्रेका हुन् ।
