निर्मल पुर्जा उर्फ निम्स दाइः हिमालबाट परिचय हिमालमै अन्त

विज्ञापन
ncell

पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परि विश्वप्रसिद्ध पर्वतारोही निर्मल पूर्जासहित १० जनाको निधन

असाधारण पर्वतारोहण उपलब्धिका लागि सन् २०१८ मा तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीयबाट पुर्जालाई एमबीई (मेम्बर अफ द अर्डर अफ तजभ ब्रिटिस इम्पायर) सम्मान प्रदान गरिएको थियो ।

काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’ कोे पाकिस्तानको हिमपहिरोमा परी निधन भएको छ । सो पहिरोमा परि ब्रोड पिक हिमाल आरोहण टोलीका सबै सदस्य (१० जना) को निधन भएको हो ।

पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार आएको हिमपहिरोमा परेर बेपत्ता भएका भएका उनीहरुको निधन भएको बताइएको छ । प्रारम्भिक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले निर्मल पूर्जासहित १० जना आरोही हिमपहिरोमा परेको र खोज तथा उद्धार कार्य जारी रहेको जनाएको थियो।

आरोहण टोलीमा ६ जना नेपालीसहित एक अमेरिकी, एक चिनियाँ, एक ओमानी तथा अन्य अन्तर्राष्ट्रिय आरोही सहभागी थिए । हिमपहिरोपछि सम्पर्कविहीन बनेका आरोहीहरूको खोजीका क्रममा ड्रोनबाट क्याम्प-१ नजिकै थप शवहरू देखिएपछि उद्धार टोली घटनास्थल पुगेको थियो । पाकिस्तान सेनाका हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएका उद्धारकर्मीहरूले खोजी कार्य अघि बढाएका थिए । उच्च हिमाली क्षेत्रको प्रतिकूल मौसम, भीरालो भूभाग तथा ६ हजार मिटरभन्दा माथिको जोखिमपूर्ण अवस्थाका कारण उद्धार कार्य अत्यन्त कठिन बनिरहेको अवस्थामा केही शव फेला परेको जनाइएको छ । 

पाकिस्तानको ब्रोड पिक हिमालको हिमपहिरोमा परी निम्स दाइसहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पाको निधन भएको छ । बिहीबारदेखि हराइरहेका आरोहीको मृत्युबारेको पुष्टि शनिबार गरिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहले ६ जना नेपालीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

निर्मल पूर्जा नेपाली पर्वतारोहण क्षेत्रका विश्वव्यापी चिनारी थिए । सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका निर्मल पुर्जा साहसिक यात्रालाई विश्वभर प्रशंसा गर्ने गरिएको छ । नेटफ्लिक्सको निर्मल पुर्जाका विषयमा वृत्तचित्र बनाई विश्वभर परिचित बनाउन भुमिका खेलेको थियो । नेटफ्लिक्सको वृत्तचित्र ‘फोर्टिन पीक्सः नथिङ इज इम्पोसिबल’ ले १४ वटा ८ हजारमिटरभन्दा अग्ला हिमालको आरोहण अभियानलाई विश्वभरका दर्शकमाझ पुर्‍याएपछि निर्मल पुर्जा पर्वतारोहणको सीमित घेराभन्दा बाहिर चिनिने अन्तर्राष्ट्रिय सेलिब्रिटी बनेका थिए । 

बेलायती सेनामा १६ वर्ष बिताएका पुर्जाको पर्वतारोहणप्रति विशेष रुचि थियो । असाधारण पर्वतारोहण उपलब्धिका लागि सन् २०१८ मा तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीयबाट पुर्जालाई एमबीई (मेम्बर अफ द अर्डर अफ तजभ ब्रिटिस इम्पायर) सम्मान प्रदान गरिएको थियो । यो उत्कृष्ट उपलब्धिका लागि प्रदान गरिने नागरिक सम्मान हो । दक्षिणी बेलयातको इस्टलेइ बरोमा रहेको नेपाली समुदायका सदस्य पुर्जालाई सन् २०२१ मा ‘अनररी फ्रिडम अफ द बरो’ सम्मान पनि दिइएको थियो । यो इस्टलेइ बरो काउन्सिलले प्रदान गर्न सक्ने सबैभन्दा उच्च सम्मान हो । 

निर्मल पुर्जाको कम्पनी एलिट एक्स्पेडले वक्तव्यमा भनेको छ, ‘आज हामी अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडाका साथ ब्रड पिकमा आएको हिमपहिरोपछि निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद् निधन भएको पुष्टि गर्दछौं । साथै, अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ । उनको दूरदृष्टि, नेतृत्व र दृढ संकल्पले एलिट एक्स्पेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरलाई आजको स्थानमा पुर्‍यायो । उनले परिवर्तन ल्याएका असंख्य जीवन र प्रेरित गरेका मानिसहरूमार्फत उनको योगदान सधैं जीवित रहनेछ ।’