गोरखा सैनिकदेखि विश्व कीर्तिमानी पर्वतारोही बनेका निम्स दाइ, इतिहासले नबिर्सने अदम्य साहस

विज्ञापन
ncell

पाकिस्तानी अधिकारीहरूले हराइरहेका आरोहीहरूको नाम, राष्ट्रियता तथा राहदानी नम्बरसमेत सार्वजनिक गरेका छन् । सो सूचीमा निर्मल बेलायती नागरिक रहेको र उनको राहदानी नम्बर रहेको उल्लेख छ । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भने केवल नाम मात्र छ । यसले पुर्जा नेपाली नागरिक हुन् वा बेलायती भन्ने प्रश्न उठेको देखिन्छ ।

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) नेतृत्वको १० सदस्यीय आरोही टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब ६ हजार ७०० मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो । उक्त टोलीमा ६ जना नेपाली र चार विदेशी आरोही सहभागी थिए ।

दुर्घटनापछि पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन, स्थानीय उद्धार टोली तथा के-२ क्षेत्रमा रहेका अनुभवी आरोहीहरू परिचालन गरिएका थिए । खोजीपछि निर्मल पुर्जासहित सम्पूर्ण आरोहीको निधन भएको पुष्टि भएको छ ।

पुर्जाको निधनसँगै विश्वभरका पर्वतारोही, साहसिक खेलकुदका अभियन्ता, पर्यटनकर्मी तथा उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उनको जीवन, विश्व कीर्तिमान र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानलाई विशेष प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । विशेषगरी, आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर बनाएको विश्व कीर्तिमानलाई आधुनिक पर्वतारोहण इतिहासकै सबैभन्दा असाधारण उपलब्धिमध्ये एकका रूपमा उनको स्मरण गरिएको छ ।


को हुन् निर्मल पुर्जा? 

निर्मल पुर्जा (निम्स दाइ) म्याग्दीमा जन्मिएका थिए भने उनले बाल्यकाल चितवनमा बिताएका थिए । आफ्ना बुवा र दाजुहरूको पदचाप पछ्याउँदै उनी १८ वर्षको उमेरमा सन् २००३ मा बेलायती सेनामा भर्ती भएका थिए । उनी गोरखा सैनिकमा सक्रिय रहँदासम्म उनको पहिचान अन्तर्राष्ट्रिय आरोहीका रूपमा स्थापित भएको थिएन । यद्यपि, उनी गोरखा सैनिकमै रहँदा आरोहण यात्रा भने थालिसकेका थिए ।

उनको आधिकारिक वेबसाइट ‘निम्सदाइ डटकम’का अनुसार उनले कुल १६ वर्ष सेनामा बिताएका थिए । त्यसमध्ये ६ वर्ष गोरखा र १० वर्ष ‘यूके स्पेसल फोर्स’ (एसबीएस) मा बिताएका थिए । उनी २००९ मा गोरखा सैनिकबाट स्पेसल बोट सर्भिसमा आबद्ध हुने पहिलो गोरखा सैनिक बने । यस युनिटमा मुख्यतया रोयल मरिन्स कमान्डोहरू हुन्छन् । यो युनिट गोप्य तथा रणनीतिक कारबाहीमा विशेष दखल राख्छ ।

उनले २०१२ देखि हिमाल आरोहण यात्रा थालेका हुन् । स्पेसल फोर्सको ड्युटीबाट बिदामा आएको मौकामा उनले सगरमाथा आधार शिविरको यात्रा तय गरे । यो यात्राले उनलाई हिमालप्रतिको लगाव र महत्त्वाकांक्षा बढाएको उनले बताएका थिए ।

सोही यात्राबाट काठमाडौं फर्किएपछि उनले आफ्ना गाइडसँग आरोहण सिक्ने इच्छा व्यक्त गरे । त्यसक्रममा उनी गाइडसँगै ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहणमा गए र सफल भए । त्यो उनको हिमचुचुरोतर्फको पहिलो पाइला थियो । सोही आरोहणपछि भने उनी सैन्य सेवामै फर्किए । एसबीएसमा उनी अत्यधिक चिसो मौसमको युद्धकला सम्बन्धी विषयविज्ञको भूमिकामा पुगे ।


निर्मल पुर्जा नेपाली नागरिक कि बेलायती? 

पुर्जा बेलायत गएर बेलायती सेनामा भर्ना भएका थिए । पछि उनी आरोहणमा लागेर विश्व रेकर्डहरू बनाउन सफल भए । उनी विश्वविख्यात भएसँगै उनको विषयमा नेटफ्लिक्समा डकुमेन्ट्रीसमेत रिलिज भयो । त्यससँगै उनले हिमाल आरोहणसम्बन्धी ‘नेपाल इलाइट’ कम्पनी सुरु गरे । उनले ‘निम्सदाइ’ नामक ब्रान्डमार्फत आरोहणसम्बन्धी सामग्रीहरूको उत्पादनसमेत सुरु गरेका थिए ।

पाकिस्तानी अधिकारीहरूले हराइरहेका आरोहीहरूको नाम, राष्ट्रियता तथा राहदानी नम्बरसमेत सार्वजनिक गरेका छन् । सो सूचीमा निर्मल बेलायती नागरिक रहेको र उनको राहदानी नम्बर रहेको उल्लेख छ । पर्यटन मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भने केवल नाम मात्र छ । यसले पुर्जा नेपाली नागरिक हुन् वा बेलायती भन्ने प्रश्न उठेको देखिन्छ ।

पुर्जाले सन् २०१२ जुन २८ मा बेलायती राहदानी बनाएका थिए । सो राहदानीमा उनको राष्ट्रियता बेलायत उल्लेख छ । सन् २०२२ सम्म म्याद रहेको सोही राहदानी प्रयोग गरेर उनी पटक-पटक भिजिट भिसामा नेपाल आउने गरेको अध्यागमन विभागको अभिलेखमा उल्लेख छ ।

बेलायती राहदानी हुँदाहुँदै उनले झुक्याएर सन् २०१६ मार्च १५ मा नेपाली नागरिकका रूपमा नेपाली राहदानीसमेत निकालेको उनीमाथि आरोप थियो । तर उनले नेपाली नागरिकता त्यागेको बताएका थिए ।


८ हजार मिटर माथिका १४ चुचुरो आरोहण

सन् २०१९ मा ६ महिनाभित्र ८ हजार मिटर अग्ला १४ हिमालचुली चुमेर कीर्तिमान बनाउन नेपाल फर्किएका निम्स दाइ बेलायती सेनाको आकर्षक जागिर छाडेर आएका थिए । निम्स दाइसँग जोडिएका डेभिडले सोही अभियानमा १४ वटै हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाउन सफल भएका थिए । २०२१ मा माउन्ट के-२ मा निम्स दाइ र डेभिडसहित १० नेपाली आरोही टोलीले शीतकालीन सिजनमा पहिलो पटक आरोहण गरी विश्व कीर्तिमान बनाएको थियो ।

यस्तो कीर्तिमान यसअघि करिब आठ वर्षको समयावधिसम्म कायम थियो । पुर्जाले सन् २०१९ मा त्यो कार्य ६ महिना ६ दिनमा पूरा गरे । ‘प्रोजेक्ट पसिबल’ नाम दिइएको उनको उक्त यात्रालाई ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नामक वृत्तचित्रमा कैद गरिएको थियो । पर्वतारोहणका उपलब्धिका निम्ति बेलायती रानी एलिजाबेथ द्वितीयाले सन् २०१८ मा उनलाई नागरिक सम्मान ‘एमबीई’बाट विभूषित गरेकी थिइन् । १४ चुचुरो आरोहणको प्रयासका निम्ति खर्च जुटाउन उनले आफ्नो घर धितो राख्नुपरेको र यो सम्पूर्ण कार्यमा उनकी पत्नी सुचीले साथ दिएको उनले बताएका थिए ।

निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय आरोही टोली पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा करिब ६ हजार ७०० मिटरको उचाइमा पुगेपछि हिमपहिरोमा परेको थियो । टोलीमा ६ जना नेपाली र चार विदेशी आरोही सहभागी थिए । दुर्घटनापछि पाकिस्तानी सेनाको हेलिकप्टर, ड्रोन, स्थानीय उद्धार टोली तथा के-२ क्षेत्रमा रहेका अनुभवी आरोहीहरू परिचालन गरिएका थिए । प्रतिनिधिसभा सदस्य तथा अनुभवी आरोही मिङ्मा डेभिड शेर्पा पनि खोजी अभियानमा सहभागी भएका थिए । व्यापक खोजीपछि निम्स दाइसहित सम्पूर्ण आरोहीको निधन भएको पुष्टि भएको हो ।

निर्मल पुर्जा अब भौतिक रूपमा हामीबीच छैनन् । तर उनले छाडेर गएको साहस, नेतृत्व, अनुशासन, मानवता र असम्भवलाई सम्भव बनाउने आत्मविश्वास नेपाली समाज र विश्व पर्वतारोहण समुदायका लागि सधैँ प्रेरणाको स्रोत रहनेछ । निम्स दाइसहित ६ जना नेपाली पर्वतारोहीको भौतिक शरीर विलीन भएको छ, तर उनीहरूको अदम्य साहस, समर्पण र योगदान इतिहासमा सधैं अमर रहनेछ ।