महासंघका थप तीन विषयगत समिति विस्तार, निजी क्षेत्रका मुद्दा उठाउन सक्रिय भूमिका खेल्ने

विज्ञापन
ncell

यसअघि आठ समिति गठन भइसकेका थिए भने महासंघमा कुल २५ वटा विषयगत समिति रहेका छन् ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गत थप तीन वटा विषयगत समितिले पूर्णता पाएका छन् । यसअघि आठ समिति गठन भइसकेका थिए भने महासंघमा कुल २५ वटा विषयगत समिति रहेका छन् ।

महासंघका केन्द्रीय सदस्य हेमन्त गोल्छाको सभापतित्वमा बैंक, फाइनान्स तथा बीमा समिति, सविन श्रेष्ठको सभापतित्वमा मेला समिति तथा संघर्ष विष्टको सभापतित्वमा पर्यटन तथा हवाई यातायात समिति विस्तार भएसँगै थप तीन समितिले पूर्णता पाएका हुन् ।

महासंघ सचिवालय, टेकुमा आयोजित कार्यक्रममा महासंघका विभिन्न विषयगत समितिका उपसभापति, सदस्य तथा सल्लाहकारलाई मनोनयन पत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा महासंघका कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले विषयगत समितिहरू निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्र भएको बताए । उनले समितिहरूलाई आफ्नो क्षेत्रसँग सम्बन्धित समस्या तथा नीतिगत विषयमा गहन अध्ययन गरी महासंघमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरे । उनले निजी क्षेत्रका साझा मुद्दामा संस्थागत धारणा निर्माण, नीति सुधार, लगानी प्रवर्द्धन तथा व्यवसाय विस्तारका लागि समितिहरूले परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिए ।

महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले विषयगत समितिहरू महासंघका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने आधार भएको उल्लेख गर्दै सम्बन्धित क्षेत्रका व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न आग्रह गरे । उनले तथ्यमा आधारित नीतिगत सुझाव महासंघमा पेश गर्नुपर्नेमा पनि जोड दिए ।

महासंघका कोषाध्यक्ष मनीषलाल प्रधानले समितिहरूको सक्रियताले महासंघको संस्थागत क्षमता थप सुदृढ हुने बताउँदै निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच समन्वय बढाउन समितिहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

नवनियुक्त समितिका सभापतिहरूले पनि आ-आफ्नो क्षेत्रका प्राथमिकता सार्वजनिक गरेका छन् । बैंक, फाइनान्स तथा बीमा समितिका सभापति हेमन्त गोल्छाले बैंकिङ क्षेत्रमा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन तथा निजी क्षेत्रमैत्री नीति निर्माणमा समिति सक्रिय रहने बताए ।

त्यस्तै, मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेलालाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउँदै स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार विस्तारमा जोड दिने बताए ।

पर्यटन तथा हवाई यातायात समितिका सभापति संघर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायात सुधार, गुणस्तरीय पर्यटक आकर्षण तथा पर्यटन पूर्वाधार विकासका लागि सरकारसँग सहकार्य गर्दै नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासंघले विषयगत समितिहरूलाई निजी क्षेत्रका समस्या र सम्भावनाको पहिचान, नीतिगत सुझाव तयारी, सरकारसँग संवाद तथा महासंघको संस्थागत धारणा निर्माणका महत्वपूर्ण संयन्त्रका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।