१५ वर्षमा राष्ट्रिय गौरबका आयोजनाको औसत प्रगति करिब ५५ प्रतिशत मात्रै
उपसमितिले राष्ट्रिय गौरवका आयोजनामा देखिएका प्रमुख समस्यामध्ये जग्गा प्राप्ति, वन तथा वातावरणसम्बन्धी स्वीकृति, बजेट सुनिश्चितता, निर्माण व्यवसायी र ठेक्का व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा पहिचान गरेको छ ।
काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माण हालकै गतिमा अघि बढेमा सम्पन्न हुन अझै कम्तीमा १० वर्ष लाग्ने देखिएको छ ।
पूर्वाधार विकास समितिअन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ती, रुख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवका आयोजनाको काम समयमा नै सम्पन्न हुनु नसकेको उपसमितिका संयोजक श्रीराम न्यौपानेले जानकारी दिए । समितिले राष्ट्रिय गौरबको आयोजनालाई छिटो सम्पन्न गर्न सुझावसहितको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा दिएका सुझाव अनुरुप आवश्यक कानूनी तथा प्रशासनिक सुधारसहित काम अघि बढाएमा ३ देखि ५ वर्षभित्रै आयोजना सम्पन्न गर्न सकिने उपसमितिका संयोजक न्यौपानेले बताए । न्यौपानेले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माण सुरु भएको करिब १५ वर्ष पुग्दा पनि औसत प्रगति करिव ५५ प्रतिशत मात्रै रहेको बताए । उनकाअनुसार १५ वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति करिव २० प्रतिशतदेखि ७० प्रतिशतसम्म छ । राम्रो प्रगति भएका आयोजनाको वार्षिक प्रगति समेत अधिकतम करिव ५ प्रतिशत मात्रै रहेको उनले जानकारी दिए । उनले यही दर कायम रहेमा आयोजना सम्पन्न गर्न न्युनतम थप १० वर्ष लाग्ने बताए । न्यौपानेकाअनुसार १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको छ भने पश्चिम सेती जलविद्युत आयोजना अझै निर्माण सुरु भएको छैन ।
उपसमितिले राष्ट्रिय गौरवका आयोजनामा देखिएका प्रमुख समस्यामध्ये जग्गा प्राप्ति, वन तथा वातावरणसम्बन्धी स्वीकृति, बजेट सुनिश्चितता, निर्माण व्यवसायी र ठेक्का व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा पहिचान गरेको छ । न्यौपानेले सबैजसो आयोजनामा जग्गा अधिग्रहण र मुआब्जा वितरण समस्या देखिएको बताए । विकास आयोजनाका लागि जग्गा प्राप्ति गर्न छुट्टै कानूनी व्यवस्था आवश्यक रहेको उनको भनाइ छ । उनले सार्वजनिक तथा निजी जग्गा व्यवस्थापनसम्बन्धी छुट्टै ऐन बनाउन सुझाव दिएको जानकारी दिए । हाल प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला समितिमार्फत जग्गा प्राप्ति गर्ने व्यवस्था प्रभावकारी नभएको भन्दै उनले आयोजना प्रयोजनका लागि छिटो, पारदर्शी र स्पष्ट मापदण्डसहितको व्यवस्था आवश्यक रहेको बताए ।
आयोजना निर्माणमा अर्को प्रमुख समस्या वन तथा वातावरणसम्बन्धी कानून र स्वीकृति प्रक्रियामा हुने ढिलाइ रहेको उपसमितिको निष्कर्ष छ । विशेषगरी जलविद्युत आयोजनामा रुख कटान तथा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृतिका कारण आयोजना लामो समय रोकिएको न्यौपानेले बताए । उनले विकास निर्माणलाई गति दिन ‘सनसेट ऐन’ ल्याएर निश्चित अवधिका लागि ‘विकास दशक’ घोषणा गर्नुपर्ने प्रस्ताव गरे । यस्तो कानूनी व्यवस्थामार्फत विकास आयोजनाका लागि बाधक बनेका कानूनी प्रक्रियालाई निश्चित अवधिका लागि सरलीकरण वा निलम्बन गर्न सकिने उनको तर्क छ । न्यौपानेले नेपालमा वन क्षेत्र ठूलो भएपनि त्यसबाट आर्थिक लाभ लिन नसकिएको बताए । उनकाअनुसार नेपालको कुल भूभागको करिब ४६ प्रतिशत वन क्षेत्र रहे पनि कुल गार्हस्थ्य उत्पादनमा वन क्षेत्रको योगदान करिब साढे ३ प्रतिशत मात्रै छ । जलविद्युत उत्पादनमा रुख कटानसम्बन्धी स्वीकृति प्रक्रियाले समेत बाधा पुर्याइरहेको भन्दै उनले वन संरक्षण र ऊर्जा विकासलाई एकअर्काको विरोधीका रूपमा नभई समन्वय गरेर अघि बढाउनुपर्ने धारणा राखे ।
उपसमितिले आयोजनामा बजेट सुनिश्चितता र समयमा भुक्तानी नहुनुलाई तेस्रो प्रमुख समस्याका रूपमा औँल्याएको छ । त्यस्तै, निर्माण व्यवसायीको अनुभव तथा दक्षताको कमी र ठेक्का व्यवस्थापनमा सरकारी कमजोरीसमेत आयोजनाको प्रगतिमा बाधक बनेको न्यौपानेले बताए । काम नगर्ने निर्माण व्यवसायीसँगको ठेक्का तोडिएपछि पुनः नयाँ ठेक्का लगाउने प्रक्रियामा समेत कानूनी तथा व्यावहारिक समस्या देखिएको उनको भनाइ छ ।
