नाइमा एक्स्पोमा तीन बैंकका आकर्षक अटो लोन योजना, कुन बैंकले दिन्छ सस्तो ब्याजदरमा गाडी कर्जा ?

विज्ञापन
ncell

ग्लोबल आइएमई बैंक ले ‘ग्लोबल अटो लोन’ अन्तर्गत एक्स्पो अवधिभर गाडी खरिद गर्ने ग्राहकलाई ५.२५ प्रतिशत ब्याजदर मा कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

काठमाडौँ । काठमाडौंमा आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै वाणिज्य बैंकले आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन् । ग्लोबल आइएमई बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंक ले विशेष ब्याजदर र सहुलियतपूर्ण सेवा शुल्कसहितका अफर ल्याएका हुन् ।

एक्स्पोमा बैंकहरूले आफ्नै स्टलमार्फत ग्राहकलाई तत्काल कर्जा प्रक्रिया, वित्तीय परामर्श तथा स्वीकृति सम्बन्धी सेवा प्रदान गरिरहेका छन् । बैंकहरूको प्रतिस्पर्धात्मक योजनाले गाडी खरिद गर्न चाहने ग्राहकको आकर्षण बढाएको छ । ग्लोबल आइएमई बैंक ले ‘ग्लोबल अटो लोन’ अन्तर्गत एक्स्पो अवधिभर गाडी खरिद गर्ने ग्राहकलाई ५.२५ प्रतिशत ब्याजदर मा कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । न्यून ब्याजदरका कारण सर्वसाधारणलाई सहज रूपमा सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

यस्तै, एनएमबी बैंक ले वातावरणमैत्री यातायात प्रवर्द्धनलाई प्राथमिकता दिँदै विद्युतीय सवारी साधन (ईभी) खरिदकर्ताका लागि विशेष कर्जा योजना ल्याएको छ । बैंकले नयाँ ईभी खरिदमा आधार दरमा थप ०.५ प्रतिशतबाट सुरु हुने ब्याजदर मा कर्जा उपलब्ध गराउने जनाएको छ। कर्जा प्रक्रियालाई सरल र छिटो बनाइएको तथा योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकको भनाइ छ ।

सिद्धार्थ बैंकले पनि नयाँ गाडी खरिदकर्ताका लागि सहुलियतपूर्ण योजना सार्वजनिक गरेको छ । बैंकले आधार दरमा ५.५ प्रतिशत ब्याजदर मा कर्जा उपलब्ध गराउने जनाएको छ । साथै सेवा शुल्कमा पनि विशेष छुटको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । बैंकहरूले ल्याएका आकर्षक फाइनान्स योजनाले नयाँ गाडी, विशेषगरी विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि एक्स्पोलाई अवसरको रूपमा स्थापित गरेको छ । अटो कम्पनी र बैंकबीचको सहकार्यले पछिल्लो समय सुस्ताएको अटो बजारमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।