बीमा कम्पनीले रेटिङ भएका पुनर्बीमकसँग कारोबार गर्नुपर्ने, पुनर्बीमा व्यवस्थामा थप कडाई

विज्ञापन
ncell

बीमकले पुनर्बीमा गर्दा प्राधिकरणबाट अनुमति लिएका स्वदेशी पुनर्बीमक वा सम्बन्धित देशको नियामकबाट इजाजत प्राप्त गरी प्राधिकरणमा सूचीकृत विदेशी पुनर्बीमकसँग मात्र कारोबार गर्नुपर्नेछ ।

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रेटिङ भएका पुनर्बीमकसँग कारोबार गर्न निर्देशन दिएको छ । ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ मा चौथो संशोधन गर्दै प्राधिकरणले ट्रिटी पुनर्बीमा गर्दा तोकिएको न्यूनतम वित्तीय सबलता रेटिङ भएका पुनर्बीमकसँग कारोबार गर्नुपर्ने व्यवस्था गरेको हो । फ्याकल्टेटिभ पुनर्बीमाका लागि पनि न्यूनतम रेटिङ आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।

जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न निर्देशिका जारी गरिएको उल्लेख गर्दै प्राधिकरणले रेटिङ्ग कम्पनीबाट रेटिङ्ग समेत गराएका तर तोकिएको रेटिङ्ग प्राप्त नगरेका विदेशी पुनर्बीमकहरूसँगको कारोवार दुई आर्थिक वर्षभित्र क्रमशः घटाउँदै लगेर बन्द गर्नुपर्ने व्यवस्था गरेको छ । यद्यपी स्वदेशी पुनर्बीमक तथा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रमा रहेका पुनर्बीमकको हकमा रेटिङ्ग सम्बन्धी व्यवस्था लागू नहुने व्यवस्था गरिएको छ ।

प्राधिकरणले स्वदेशी पुनर्बीमकलाई प्राथमिकता दिन बीमकहरुलाई निर्देशन दिएको छ । ‘बीमकले पुनर्बीमा गर्दा प्राधिकरणबाट अनुमति लिएका स्वदेशी पुनर्बीमक वा सम्बन्धित देशको नियामकबाट इजाजत प्राप्त गरी प्राधिकरणमा सूचीकृत विदेशी पुनर्बीमकसँग मात्र कारोबार गर्नुपर्नेछ’ निर्देशिकामा भनिएको छ । बीमकलाई आफूले धारण गर्न नसक्ने वा धारण गरेपछि बाँकी रहेको जोखिमको पुनर्बीमा गर्न प्राधिकरण बीमकहरुलाई भनेको छ । पुनर्बीमा गर्दा जोखिमको विविधीकरण तथा बीमकको प्राविधिक र वित्तीय क्षमताको पर्याप्त विश्लेषण गर्न प्राधिकरणले निर्देशिकामार्फत निर्देशन दिएको छ ।

निर्देशिकामा प्रत्येक आर्थिक वर्षका लागि बीमकले आफ्नो नेटवर्थ, जोखिमांकन, पुनर्बीमा जोखिमधारण तथा समग्र वित्तीय क्षमताका आधारमा पुनर्बीमा नीति तयार गरि नयाँ आर्थिक वर्ष समाप्त हुनुअघि सञ्चालक समितिबाट पारित गरी लागू गर्नुपर्ने व्यवस्था समेटिएको छ । साथै बाँकी पुनर्बीमाको कम्तीमा ३० प्रतिशत स्वदेशमै गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा छ ।