बिक्री आम्दानी घट्दा शिवम् सिमेन्ट्सको नाफा १.७२ प्रतिशतले खुम्चियो
विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन आम्दानी ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ ।
काठमाडौँ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ । विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन आम्दानी ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ७ अर्ब ७६ करोड ६५ लाख ७६ हजार रुपैयाँ थियो । यसअनुसार कम्पनीको सञ्चालन आम्दानी एक वर्षमा ८४ करोड ३९ लाख रुपैयाँले घटेको छ। सञ्चालन आम्दानीमा आएको गिरावट नै खुद नाफा घट्नुको मुख्य कारण देखिएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ७८ करोड ४४ लाख ७४ हजार खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा ७९ करोड ८१ लाख ८६ हजार थियो । यसअनुसार खुद नाफा १ करोड ३७ लाख रुपैयाँ अर्थात् करिब १.७२ प्रतिशतले घटेको हो ।
कम्पनीको अन्य आम्दानी पनि सामान्य घटेको छ । अघिल्लो वर्ष १३ करोड ७४ लाख रुपैयाँ रहेको अन्य आम्दानी यस वर्ष १३ करोड ३२ लाखमा झरेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ३ पैसा रहेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ७६ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३३ रुपैयाँ ७१ पैसा र तरलता अनुपात १।६४ रहेको छ। सञ्चालन आम्दानी घटे पनि कम्पनीले बिक्री लागत र कुल खर्चमा भने उल्लेख्य कटौती गरेको छ। बिक्री लागत अघिल्लो आर्थिक वर्षको करिब ६ अर्ब ३ करोड रुपैयाँबाट घटेर ५ अर्ब ३२ करोड रुपैयाँमा आएको छ।
त्यस्तै, कुल खर्च ९३ करोड १६ लाख रुपैयाँबाट घटेर ८० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ । खर्च घटे पनि सञ्चालन आम्दानीमा आएको ठूलो गिरावट पूर्ति गर्न नसक्दा खुद नाफा बढ्न नसकेको हो । यस अवधिमा कम्पनीको वित्तीय खर्च भने बढेको छ । अघिल्लो वर्ष ९१ लाख ७६ हजार रुपैयाँ रहेको वित्तीय खर्च यस वर्ष १ करोड ९ लाख रुपैयाँ पुगेको छ । चालु कर दायित्वसमेत बढेको छ। अघिल्लो वर्ष ९ करोड ८९ लाख रुपैयाँ रहेको चालु कर यस वर्ष १० करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्ति भने बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा १२ अर्ब ५९ करोड रुपैयाँ रहेको कुल सम्पत्ति आर्थिक वर्ष २०८२/८३ मा बढेर १३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रुपैयाँबाट बढेर ५ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
