बुटवल पावर कम्पनीको नाफा ५४ प्रतिशतले बढ्यो
अघिल्लो वर्ष कम्पनीले २१ करोड ७३ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
काठमाडौं । बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ३३ करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५४.३४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २१ करोड ७३ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री तथा सेवा शुल्कबाट हुने आम्दानी पनि बढेको छ । असार मसान्तसम्म यस्तो आम्दानी ८० करोड १६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ७३ करोड ३७ लाख रुपैयाँ थियो। त्यस्तै, कम्पनीको सञ्चालन नाफा २६ करोड ६० लाखबाट बढेर ४२ करोड १९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.८४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१०.८७ रुपैयाँ रहेको छ ।
बुटवल पावर कम्पनीले विदेशी साझेदारहरूसँग सहकार्यमा कुल ६०१ मेगावाट क्षमताका तीन ठूला जलविद्युत आयोजना अघि बढाइरहेको छ । मनाङ मर्स्याङ्दी, तल्लो मनाङ मर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दी–२ आयोजना निर्माणको चरणमा छन्। कम्पनीका अनुसार मनाङ मर्स्याङ्दी आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।
यस्तै, न्यादी हाइड्रोपावर सञ्चालनमा आइसके पनि प्रसारण लाइनको समस्याका कारण बर्खायाममा केही विद्युत खेर गइरहेको छ। माथिल्लो मर्स्याङ्दी–एमा स्वीचिङ स्टेसन निर्माण सम्पन्न भएपछि यो समस्या समाधान हुने कम्पनीको अपेक्षा छ । ७.९ मेगावाटको चिनो खोला जलविद्युत आयोजना पनि ईपीसी ठेक्कामार्फत निर्माण भइरहेको छ ।
कम्पनीले जलविद्युत आयोजना निर्माणमा हुने प्रशासनिक ढिलाइ, नीतिगत अस्पष्टता, विदेशी विनिमय दरको उतारचढाव, बढ्दो पूँजी लागत, जलवायु परिवर्तन र प्रसारण लाइनको अभावलाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ । समग्रमा, आम्दानी र सञ्चालन नाफासँगै खुद नाफामा भएको उल्लेख्य वृद्धिले बुटवल पावर कम्पनीको वित्तीय प्रदर्शनमा सुधार देखिएको छ ।
