जेन-जी शहीद परिवार र घाइतेलाई ५० लाखसम्म ऋण, उद्यम गर्न सरकारको साथ

विज्ञापन
ncell

सरकारले जेन-जी आन्दोलनबाट प्रभावित शहीद परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलतामार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको जनाएको छ ।


काठमाडौं । सरकारले जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई लक्षित गरी स्वरोजगार उद्यम कर्जा कार्यक्रम थप गरेको हो ।

संशोधित कार्यविधिअनुसार जेन-जी आन्दोलनका शहीद परिवार वा घाइतेलाई अधिकतम ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सकिनेछ । कर्जा प्राप्त गर्न सम्बन्धित व्यक्ति शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ ।

कार्यविधिमा ‘जेन-जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई जनाउने स्पष्ट गरिएको छ ।

यस्तो कर्जा कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यमलगायत रोजगारी तथा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सकिनेछ। नेपाल सरकारले समय-समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसायका लागि समेत कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

सरकारले जेन-जी आन्दोलनबाट प्रभावित शहीद परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलतामार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको जनाएको छ ।