ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल जारी
काठमाडौं । सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था क्रमशःसहज हुँदै गएको जनाएको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।
प्रवक्ता पोखरेलकाअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरणको काम भइरहेको छ । कतिपय उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेका कारण केही स्थानमा अभाव देखिएको उल्लेख गर्दै उनले यस विषयमा मन्त्रालय गम्भीर र संवेदनशील रहेको बताए ।
मन्त्री पोखरेलले भने, ‘बजारमा ग्यासको आपूर्ति सहज हुँदै गइरहेको छ । केही समयभित्रै यो समस्या पूर्ण रूपमा समाधान भई आपूर्ति व्यवस्था सुचारु हुनेछ ।’ सरकारले आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक पहल गरिरहेको समेत उनले स्पष्ट पारे ।
