नेपालमा विद्युतीय सवारीको दोस्रो बजारः आकर्षण बढ्दो, रिसेल भ्यालुमा अन्योल

विज्ञापन
ncell

आगामी दिनमा कस्तो होला बजार?

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र बजार विस्तार तीव्र भइरहेका बेला यसको सेकेन्डह्यान्ड बजार पनि विस्तारको चरणमा प्रवेश गरेको छ । नयाँ ईभीप्रति उपभोक्ताको आकर्षण बढ्दै गए पनि प्रयोग भइसकेका ईभीको पुनर्बिक्री मूल्य भने अझै अपेक्षाअनुसार बलियो बन्न सकेको छैन ।

ब्याट्रीको अवस्था, नयाँ प्रविधि र मोडलको निरन्तर आगमन तथा उपभोक्ताको प्रविधिप्रतिको विश्वासजस्ता विषय ईभीको दोस्रो बजारका प्रमुख चुनौती बनेका छन् ।

सरकारले पेट्रोलियम पदार्थमा आधारित सवारीसाधनप्रतिको निर्भरता घटाउने नीतिअनुसार विद्युतीय सवारीसाधनमा कर तथा वित्तीय सहुलियत दिँदै आएको छ । बैंक तथा वित्तीय संस्थाले समेत हरित कोषमार्फत ईभी खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउँदै आएका छन् । यसले नेपालमा इभीको आयात र प्रयोग दुवै बढाएको छ ।

पूर्वाधार विकास मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय यातायात नीति २०८३ अनुसार नेपालमा आयात हुने निजी कारमध्ये विद्युतीय सवारीसाधनको हिस्सा ७० प्रतिशतभन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०८२/८३ सम्म नेपालमा दर्ता भएका विद्युतीय सवारीसाधनको संख्या ६३ हजार २८० पुगेको नीतिमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले २५ अर्ब ५५ करोड ९९ लाख १७ हजार रुपैयाँ मूल्यका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात गरेको थियो। त्यसअघि आर्थिक वर्ष २०८१/८२ मा ३१ अर्ब ७४ करोड ५३ लाख ११ हजार रुपैयाँ मूल्यका १३ हजार ५६७ वटा इभी आयात भएका थिए ।

नयाँ इभीको बजार विस्तारसँगै अब प्रयोग भइसकेका विद्युतीय सवारीसाधनको बजार कस्तो बन्छ भन्ने विषय पनि महत्वपूर्ण बनेको छ । नेपालमा इभीको प्रयोग र बिक्रीले गति लिन थालेको लामो समय नभएकाले यसको वास्तविक दोस्रो बजार कति बलियो छ भन्ने मूल्यांकनका लागि अझै केही समय लाग्ने व्यवसायीहरू बताउँछन् ।

एलएस अटोको आधिकारिक विक्रेता नेक्सन भेन्चर्स प्रालिका महाप्रबन्धक दिपक के.आर. पुराकोटी अनुसार नेपालमा ईभीको बिक्री र प्रयोग व्यापक रूपमा बढ्न थालेको तिन- चार वर्ष भएको छ । त्यसैले अहिलेको दोस्रो बजारलाई आधार बनाएर ईभीको पुनर्बिक्री मूल्यबारे अन्तिम निष्कर्षमा पुग्न हतार हुने उनको भनाइ छ ।

उनका अनुसार कुनै पनि सवारीसाधनको प्रदर्शन, प्रयोगपछि हुने मूल्यह्रास र पुनर्बिक्री मूल्यको वास्तविक अवस्था बुझ्न कम्तीमा दुईदेखि तीन वर्षको प्रयोग आवश्यक हुन्छ । नेपालमा ईभी प्रयोगको इतिहास तुलनात्मक रूपमा छोटो भएकाले यसको सेकेन्डह्यान्ड बजारको वास्तविक अवस्था अझै निर्माणकै क्रममा रहेको उनले बताए ।

‘राम्रो प्रदर्शन भएको ईभी बिक्री गर्न खोज्दा राम्रो मूल्य पाउन सकिन्छ,’ पुराकोटीले भने, ‘तर अहिले नेपालको रिकन्डिसन तथा सेकेन्डह्यान्ड बजारमा इभीको पुनर्बिक्री मूल्य त्यति राम्रो छैन ।’

ईभीको दोस्रो बजार आगामी दिनमा विस्तार हुने सम्भावना भने रहेको पुराकोटीको भनाइ छ। नेपालका सडक तथा भौगोलिक अवस्थालाई लक्षित गरी थप उन्नत प्रविधिका इभी बजारमा आउने क्रम बढ्ने र त्यससँगै सवारीसाधनको प्रदर्शन तथा प्रविधिमा पनि सुधार हुँदै जाने उनको अनुमान छ। ‘आउँदो पुस्ता विद्युतीय सवारीकै हो भन्नेमा दुईमत छैन,’ उनले भने।

पछिल्ला वर्षहरूमा नेपालमा विभिन्न मूल्य र श्रेणीका ईभी भित्रिएका छन्। विलासीदेखि तुलनात्मक रूपमा किफायती मूल्यसम्मका मोडल उपलब्ध हुन थालेपछि उपभोक्ताको रोजाइ पनि फराकिलो भएको छ। तर नयाँ–नयाँ मोडल र प्रविधि निरन्तर बजारमा भित्रिँदा पुराना मोडलको पुनर्बिक्री मूल्यमा दबाब पर्न सक्ने जोखिम पनि छ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार ईभीको दोस्रो बजार कमजोर हुनुको एउटा प्रमुख कारण सुरुआती चरणमा उपभोक्तामा रहेको प्रविधिप्रतिको अन्योल हो ।

सुरुआती समयमा ब्याट्रीको आयु कति हुन्छ, ब्याट्री बिग्रिएमा प्रतिस्थापन खर्च कति पर्छ, आवश्यक पार्टपुर्जा सहज रूपमा पाइन्छ कि पाइँदैन र केही वर्षपछि सवारी बिक्री गर्दा कति मूल्य आउँछ भन्ने विषयमा उपभोक्तामा पर्याप्त विश्वास थिएन । त्यसको असर ईभीको पुनर्बिक्री मूल्यमा समेत परेको थियो ।

तर पछिल्ला वर्षहरूमा ईभी प्रयोगकर्ताको संख्या बढ्दै जाँदा प्रयोगकर्ताका सकारात्मक अनुभव पनि बढिरहेका छन् । यसले ब्याट्री, मर्मतसम्भार, सञ्चालन खर्च तथा प्रविधिको विश्वसनीयताबारे रहेका आशंका क्रमशः कम गर्दै गएको थपलिया बताउँछन् ।

‘सेकेन्डह्यान्ड बजार वास्तवमा विश्वासमा चल्ने बजार हो,’ थपलियाले भने, ‘जसरी सेयर बजारमा प्राथमिक र दोस्रो बजारबीच सम्बन्ध हुन्छ, त्यसरी नै इभीको नयाँ बजार र पुरानो बजारबीच पनि सम्बन्ध हुन्छ। जबसम्म ग्राहकले प्रविधिमाथि विश्वास गर्दैन, दोस्रो बजार बलियो बन्न सक्दैन।’

उनका अनुसार अहिले सेकेन्डह्यान्ड ईभी खरिद गर्ने ग्राहकको संख्या बढिरहेको छ । यसले ईभी बजार विस्तारको चरणबाट क्रमशः सामान्य र परिपक्व अवस्थातर्फ अघि बढिरहेको संकेत गर्ने उनको भनाइ छ ।

तर बजार विस्तारसँगै ईभीको दोस्रो बजारलाई व्यवस्थित बनाउन सरकार र सम्बन्धित निकायले नीति, नियम तथा पूर्वाधारमा समेत ध्यान दिनुपर्ने थपलिया बताउँछन् ।

विशेषगरी चार्जिङ पूर्वाधारको विस्तार, ब्याट्रीको अवस्था परीक्षण गर्ने विश्वसनीय प्रणाली, ब्याट्रीको स्वास्थ्यसम्बन्धी प्रमाणीकरण, पार्टपुर्जाको उपलब्धता र मर्मतसम्भारको सहजता दोस्रो बजारका लागि महत्वपूर्ण हुने देखिन्छ ।

ईभी पुरानो हुँदै जाँदा त्यसको वास्तविक मूल्य निर्धारण कसरी गर्ने भन्ने विषय पनि चुनौतीका रूपमा रहनेछ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा जस्तो लामो समयको सेकेन्डह्यान्ड बजार अनुभव ईभीमा अझै बनिसकेको छैन । त्यसैले ब्याट्रीको स्वास्थ्य, चार्जिङ चक्र, सवारीसाधनको प्रदर्शन, मर्मतसम्भारको इतिहास र प्रविधिको पुस्ताजस्ता विषयलाई पुनर्बिक्री मूल्य निर्धारणको आधार बनाउनुपर्ने देखिन्छ ।

नयाँ ईभीको बिक्री बढ्नु मात्र दोस्रो बजार बलियो भएको प्रमाण भने होइन । पुराना ईभी बिक्री गर्दा उपभोक्ताले उचित मूल्य पाउनु, खरिदकर्ताले ब्याट्री र सवारीसाधनको वास्तविक अवस्था थाहा पाउनु तथा बजारमा विश्वासको वातावरण बन्नु नै इभीको दोस्रो बजार परिपक्व भएको प्रमुख संकेत हुनेछ ।