आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

विज्ञापन
ncell

कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको ३४ दिनमै सरकारले एक खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन (बुधबार) सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको हो ।

कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ ।

यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत र अन्य तर्फ १३.७८ प्रतिशत राजस्व संकलन भएको छ । सरकारले आर्थिक वर्ष २०८३/८४ मा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ, जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘मिसन १६ खर्ब’ नाम दिएका छन् । १५ खर्ब ८० अर्ब रुपैयाँको लक्ष्य पूरा गर्न बाँकी ३३१ दिनमा करिब १४ खर्ब ८० अर्ब रुपैयाँ थप राजस्व उठाउनुपर्ने हुन्छ। यसको अर्थ अब बाँकी प्रत्येक दिन औसत करिब ४ अर्ब ४८ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने हुन्छ ।

राजस्व चुहावट रोकेर मिसन मोडमा राजस्वको उच्च लक्ष्य हासिल गर्ने उद्देश्यसहित अर्थ मन्त्रालय मातहतका निकायहरूलाई काम गर्न उनले निर्देशन दिँदै आएका छन् । सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा सरकारले १२ खर्ब ४९ अर्ब राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको लक्ष्य गत वर्षको कुल संकलनभन्दा ३३१ अर्बले बढी हो । सुरुआती ३४ दिनमा एक खर्ब रुपैयाँ राजस्व संकलन हुनु सरकारका लागि सकारात्मक सुरुआत हो। तर १५ खर्ब ८० अर्बको लक्ष्य पूरा गर्न अब राजस्व संकलनको गति कायम राख्नुका साथै आर्थिक गतिविधि र करयोग्य कारोबार विस्तार गर्नु सरकारको मुख्य चुनौती हुनेछ ।