नेपाल टेलिकमले 'स्टक ब्रोकर' छनोट गर्दै, १० अर्बभन्दा बढी औसत कारोबार अनिवार्य
प्रस्ताव पेश गर्ने कम्पनी प्रचलित कानुनअनुसार दर्ता भएको हुनुपर्नेछ भने नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति प्राप्त गरी त्यसलाई नवीकरणसमेत गरेको हुनुपर्नेछ । साथै, स्थायी लेखा नम्बर लिएको र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गरेको हुनुपर्नेछ ।
काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो धितोपत्र कारोबारमा सेवा दिने 'स्टक ब्रोकर' कम्पनीहरूको सूची तयार गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि टेलिकमले योग्य धितोपत्र दलाल कम्पनीहरूबाट सूचीकरणका लागि प्रस्ताव माग गरेको हो ।
टेलिकमका अनुसार इच्छुक तथा योग्यता पुगेका ब्रोकर कम्पनीहरूले सूचना प्रकाशित भएको मिति भदौ ८ गतेदेखि १५ दिनभित्र कार्यालय समयमा आफ्नो प्रस्ताव भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा दर्ता गराउनुपर्नेछ । सूचीकरणका लागि आवश्यक प्रस्ताव फाराम टेलिकमबाट निःशुल्क प्राप्त गर्न सकिनेछ ।
ब्रोकर कम्पनी छनोटका लागि टेलिकमले विभिन्न मापदण्ड तोकेको छ । प्रस्ताव पेश गर्ने कम्पनी प्रचलित कानुनअनुसार दर्ता भएको हुनुपर्नेछ भने नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति प्राप्त गरी त्यसलाई नवीकरणसमेत गरेको हुनुपर्नेछ । साथै, स्थायी लेखा नम्बर लिएको र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गरेको हुनुपर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको नेट वर्किङ क्यापिटल धनात्मक रहेको र सोही आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणसमेत आवश्यक पर्नेछ । व्यावसायिक अनुभव र कारोबारको आकारलाई पनि ब्रोकर छनोटमा महत्वपूर्ण आधार बनाइएको छ । पछिल्ला दुई आर्थिक वर्ष अर्थात् २०८०/८१ र २०८१/८२ मा ब्रोकर कम्पनीले गरेको धितोपत्र कारोबारको औसत वार्षिक रकम कम्तीमा १० अर्ब रुपैयाँभन्दा बढी हुनुपर्नेछ ।
यसका अतिरिक्त, सम्बन्धित कम्पनीले धितोपत्र दलालका रूपमा कम्तीमा दुई वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । कम्तीमा एउटा पूर्ण वा आंशिक सरकारी स्वामित्व रहेको कम्पनी वा अन्य संगठित संस्थालाई एक वर्षसम्म ब्रोकर सेवा प्रदान गरेको अनुभव पनि अनिवार्य गरिएको छ ।
कानुनअनुसार धितोपत्र कारोबार गर्न अयोग्य नरहेका तथा टेलिकमले तोकेका सबै मापदण्ड पूरा गर्ने ब्रोकर कम्पनीहरूले आफ्नो कम्पनी प्रोफाइलसहित प्रस्ताव पेश गर्न सक्नेछन् । प्राप्त प्रस्तावका आधारमा नेपाल टेलिकमले आर्थिक वर्ष २०८३/८४ का लागि योग्य ब्रोकरहरूको सूची तयार गर्नेछ ।
