लगातार नाफामा संकुचन व्यहोरेका निर्जीवन बिमा कम्पनी रसुवा बाढीले फेरि दबाबमा

विज्ञापन
ncell

एकपछि अर्को घटनाको भार थपिँदै

काठमाडौं । पछिल्लो केही वर्षयता लगातार नाफा संकुचन हुँदै आएका निर्जीवन बिमा कम्पनीहरू फेरि दबाबमा पर्ने भएका छन् । बुधबार बिहान आएको रसुवा बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति हुँदा खासगरी निर्जीवन बिमा कम्पनीमाथिको दायित्व बढेर जाने देखिएको हो ।

सयौँको संख्यामा सवारीसाधनदेखि घर, भवन, पक्की पुल, जलविद्युत् आयोजना लगायतका संरचना बगाउँदा बिमा भएका सम्पत्तिको दायित्व बहन निर्जीवन बिमा कम्पनीले बेहोर्नुपर्ने हुन्छ । जसका कारण निर्जीवन बिमा कम्पनीको वित्तीय स्थितिमा थप चाप पर्ने देखिएको हो ।

यसअघि, भूकम्प, बाढीपहिरो, जेनजी आन्दोलन लगायतका घटनापछि ठूलो मात्रामा दाबी भुक्तानी गर्नुपर्दा निर्जीवन बिमा कम्पनीहरूको नाफा संकुचनमा गएको थियो । तर, अहिले पनि रसुवा बाढीका कारण ठूलो क्षति हुँदा त्यसको केही हिस्सा निर्जीवन बिमा कम्पनीको काँधमा पनि पर्ने भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष मात्रै निर्जीवन बिमा कम्पनीहरूको नाफा ३८ प्रतिशतले संकुचित भएको थियो । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म निर्जीवन बिमा कम्पनीहरूले कुल २ अर्ब ७२ करोड ९० लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । तर, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने यी कम्पनीको खुद नाफा ४ अर्ब ४३ करोड ६९ लाख १४ हजार रुपैयाँ थियो ।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा पनि निर्जीवन बिमा कम्पनीको नाफा करिब २९ प्रतिशतले घटेको थियो ।

यस्तो अवस्थामा आएको रसुवा बाढीले चालु आर्थिक वर्षमा पनि निर्जीवन बिमा कम्पनीहरूलाई वित्तीय स्थिति सुधार गर्न कठिन हुने अवस्था पैदा भएको छ । अर्थात्, निर्जीवन बिमा कम्पनीहरूको नाफामा आइरहेको निरन्तरको संकुचनले यस वर्ष पनि निरन्तरता पाउने हो कि भन्ने सम्भावना बढेको छ ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले पछिल्लो परिस्थितिमा बिमा कम्पनीहरूलाई कसरी व्यवस्थित रूपमा अघि बढाउने भन्ने विषयमा नेपाल बिमक संघसँग छलफल भइरहेको बताए । हालसम्म क्षतिको यकिन विवरण नआइसकेकाले त्यसको असरबारे भन्न नसकिने उनको भनाइ छ ।

यसअघि, २०८१ असोजको दोस्रो साता आएको अविरल वर्षा, बाढी र पहिरोबाट मात्रै १० अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको थियो । उक्त विपद्बाट बागमती प्रदेशका विभिन्न जिल्ला विशेषगरी प्रभावित भएका थिए ।

दक्षिणी ललितपुरसहित काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा नख्खु खोलाको बाढीले ठूलो क्षति पुर्‍याएको थियो । काभ्रेपलाञ्चोकमा रोशी खोलाको बाढीले पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाका भौतिक संरचना, कृषि तथा पशु चौपायामा क्षति पुर्‍याएको थियो ।

काठमाडौं र भक्तपुरमा बागमती तथा सहायक नदीका करिडोर र आसपासका क्षेत्रमा डुबान हुँदा व्यापार–व्यवसायसमेत प्रभावित भएका थिए । सोही बाढीपहिरोबाट २० वटा जलविद्युत् आयोजना समेत प्रभावित भएका थिए । माण्डु हाइड्रोपावर, माउन्टेन हाइड्रो, हेवाखोला जलविद्युत् आयोजनालगायतमा क्षति पुगेको थियो ।

जलविद्युत् आयोजना, ठूला उद्योग तथा व्यावसायिक संरचनाको बिमा रकम उच्च हुने भएकाले यस्ता आयोजनामा हुने क्षतिले बिमा कम्पनीलाई एकैपटक ठूलो दाबी भुक्तानीको दबाबमा पार्ने गरेको छ ।

२०८२ असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा, बाढी तथा पहिरोबाट भएको क्षतिका लागि मात्रै ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँको प्रारम्भिक बिमा दाबी परेको थियो ।

लेहेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमास्थित मितेरी पुल तथा भन्सार यार्डमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी हाइड्रोपावरलगायतका संरचनामा समेत क्षति पुगेको थियो । यसले सीमावर्ती पूर्वाधारदेखि जलविद्युत् आयोजनासम्म उच्च मूल्यका सम्पत्तिमा प्राकृतिक विपद्को जोखिम कति ठूलो हुन सक्छ भन्ने देखाएको छ ।

बिमा कम्पनीको जोखिम प्राकृतिक विपद्मा मात्रै सीमित छैन । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिका लागि मात्रै २३ अर्ब ४६ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको थियो । आन्दोलनका क्रममा व्यावसायिक भवन, पसल, सवारीसाधन तथा अन्य संरचनामा भएको क्षतिले निर्जीवन बिमा कम्पनीमाथि ठूलो दायित्व थपेको हो ।

त्यसैगरी, २०८३ साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज बजारमा दुई समुदायबीच भएको हिंसात्मक झडप तथा तोडफोडबाट प्रभावित व्यवसाय र भौतिक संरचनाका लागि समेत बिमा दाबी परेको छ । यसले बिमा कम्पनीका लागि प्राकृतिक विपद्सँगै सामाजिक तथा मानवीय घटनाबाट उत्पन्न हुने जोखिम पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको देखाउँछ ।