नेप्सेमा १२ अंकको सुधार, कारोबार रकम भने ३ अर्ब १३ करोडमा सीमित
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने बढेर बन्द भएको हो ।
मंगलबार नेप्से परिसूचक ११.९६ अंक बढेर २५७८.७३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ ।
नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब २७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य ५.११ प्रतिशत बढेको छ । मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । त्यस्तै, सर्वोत्तम पेन्ट्सको सेयरमूल्य करिब ५ प्रतिशत घटेको छ भने एआईबिएल ग्रोथ फण्डको इकाईमूल्य करिब साढे ४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ९१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, लिबर्टी इनर्जीको करिब १४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह घटेका छन् । जीवन बीमा उपसमूह ४१.१० अंकले बढ्दै सबैभन्दा अगाडि रहेको छ । लघुवित्त र निर्जीवन बीमा उपसमूह भने सामान्य घटेका छन् ।
आज कारोबारमा आएका मध्य १६९ कम्पनीको मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ त्यस्तै १५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।