दशैंमा जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न मिल्ने

नेपाल आयल निगमले दशैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विभिन्न कम्पनीका सिलिन्डरबीच आपसी साटासाटको व्यवस्था गर्ने तयारी गरेको छ ।

काठमाडौं । नेपाल आयल निगमले दशैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विभिन्न कम्पनीका सिलिन्डरबीच आपसी साटासाटको व्यवस्था गर्ने तयारी गरेको छ ।

प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीकै सिलिन्डर खोज्नुपर्ने बाध्यता हट्नेछ। अर्थात्, एउटा कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सकिनेछ ।

निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार बजारमा विभिन्न कम्पनीका सिलिन्डर प्रयोग हुने भएकाले ग्यास उपलब्ध भए पनि ब्रान्ड नमिल्दा उपभोक्ता समस्यामा पर्ने गरेका छन् । चाडपर्वका बेला यस्तो समस्या झन् बढ्न सक्ने भएकाले सीमित अवधिका लागि ब्रान्डको बाध्यता हटाउने तयारी गरिएको हो ।

उनका अनुसार यो व्यवस्था हालसम्म औपचारिक रूपमा लागू भइसकेको छैन। ग्यास उद्योगीहरूसँग भएको छलफल सकारात्मक रहेकाले शुक्रबारसम्ममा कार्यान्वयनको टुङ्गो लगाउने तयारी छ । उद्योगीहरूले आपसी सहमति गरी निगमलाई जानकारी दिएपछि चाडपर्व अवधिमा सेवा सञ्चालनमा ल्याइनेछ ।

विशेषगरी एउटा मात्र सिलिन्डर भएका परिवारलाई यसबाट राहत पुग्ने निगमको अपेक्षा छ । प्रस्तावित व्यवस्थाअनुसार फरक कम्पनीको खाली सिलिन्डर बुझाएर अर्को कम्पनीको भरिएको सिलिन्डर लिँदा उपभोक्ताले अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार एउटा कम्पनीको खाली सिलिन्डर अर्को कम्पनीले अस्थायी रूपमा स्वीकार गर्नेछ । पछि सम्बन्धित उद्योगहरूले आपसी समन्वयमा सिलिन्डर व्यवस्थापन गर्नेछन् । यो व्यवस्था नियमित कारोबारका लागि नभई चाडपर्वका समयमा ग्यास नपाएर समस्यामा परेका उपभोक्तालाई तत्काल राहत दिन केन्द्रित हुनेछ ।

उद्योगीहरूले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा संयुक्त बिक्री केन्द्र सञ्चालन गर्ने तयारीसमेत गरेका छन् । करिब १५ देखि २० स्थानमा यस्ता केन्द्र स्थापना गर्ने विषयमा छलफल भइरहेको छ । सिलिन्डरको दुरुपयोग रोक्न सेवा लिने उपभोक्ताको पहिचान र मोबाइल नम्बरसमेत अभिलेख राख्ने तयारी गरिएको छ । यसबाट वास्तविक उपभोक्ताले मात्र सुविधा पाउने र डिलर तथा व्यवसायीबाट हुन सक्ने दुरुपयोग नियन्त्रण हुने उद्योगीहरूको भनाइ छ ।

निगमले भने संयुक्त बिक्री केन्द्रसँगै स्थानीय विक्रेताकै तहबाट समेत सिलिन्डर साटासाटको सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ। त्यसो भए उपभोक्ताले टाढाका बिक्री केन्द्रसम्म पुग्नुपर्ने बाध्यता नहुने निगमको बुझाइ छ । सेवा सञ्चालन हुने स्थान र कार्यविधि टुङ्गो लागेपछि एक–दुई दिनभित्र औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी निगमको छ ।

दशैंका बेला काठमाडौँ उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले समग्र ग्यासको माग केही घट्ने भए पनि उपत्यकामै बस्ने परिवारका लागि सिलिन्डरको ब्रान्ड नमिल्ने समस्या रहन सक्ने देखिन्छ । यस्तो अवस्थामा सीमित अवधिका लागि प्रस्ताव गरिएको साटासाट व्यवस्थाले चाडपर्वका बेला ग्यास खोज्दै पसल–पसल धाउनुपर्ने उपभोक्ताको समस्या कम हुने अपेक्षा गरिएको छ ।