बुढीगण्डकीको बाढीले ४ जलविद्युत् आयोजनामा क्षति, ३४१ मेगावाटको मुख्य क्याम्प क्षेत्र बगायो
टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ ।
काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ । बाढीले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाउनुका साथै अन्य आयोजनाका निर्माण उपकरण, सामग्री, बेलीब्रिज, पहुँच सडक र पुलमा समेत क्षति पुर्याएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को प्रारम्भिक विवरणअनुसार बाढीबाट ३४१ मेगावाटको बुढीगण्डकी, २४.५ मेगावाटको दोभान खोला, ३०.५९ मेगावाटको यारु खोला र १६ मेगावाटको माछा खोला जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ । आयोजनाका केही निर्माण उपकरणसमेत बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
त्यस्तै, दोभान खोला हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ । बाढीले आयोजनाको बेलीब्रिजसमेत बगाएको छ ।
यारु खोला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गरिरहेको ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनाको बेलीब्रिजमा क्षति पुगेको छ । बाढीले आयोजनाका निर्माण सामग्री तथा उपकरणसमेत बगाएको इप्पानको प्रारम्भिक विवरणमा उल्लेख छ ।
यसैगरी, वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थलसम्म पुग्ने पुलमा क्षति पुगेको छ ।
इप्पानले सार्वजनिक गरेको विवरण प्रारम्भिक भएकाले बाढीबाट आयोजनाहरूमा भएको क्षतिको पूर्ण विवरण र आर्थिक मूल्यांकन भने आइसकेको छैन ।