हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेबाट आइपीओ ल्याउने

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । त्यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९० हजार कित्ता सेयर निष्कासन गरिनेछ ।

स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखा जिल्लाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका–२, ३ र ४ का स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ । यी आयोजनाका अति प्रभावित क्षेत्र हुन् । बाँकी ६ लाख ७६ हजार कित्ता सेयर बिगु र कालिञ्चोक गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दालाई वितरण गरिनेछ ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरिनेछ । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन् ।

दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन बन्द हुने मिति छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गते तोकिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ ।