दसैँपछि खुल्दै सेयर बजार: तरलता र घट्दो ब्याजदरले आशा, अर्थमन्त्रीको कार्यशैलीले अन्योलमा लगानीकर्ता

अर्थमन्त्रीको निर्णय क्षमता र नियामकीय सुस्तताप्रति सेयर विश्लेषक डम्बर बल्लभ घिमिरेको असन्तुष्टि

घिमिरेले वर्तमान सरकार र अर्थमन्त्रीबाट सेयर बजारमा ठूलो उछाल आउने विश्वास लगानीकर्तामा बलियो नरहेको बताए । बजारलाई माथि उठाउन लगानीकर्ताको मनोबल बढाउने नीति, सहज लगानी वातावरण र स्पष्ट निर्णय आवश्यक रहेको उनको भनाइ छ ।

काठमाडौं । दसैँंको लामो बिदापछि आज खुल्ने सेयर बजारमा लगानीकर्ताको नजर बजारको आगामी दिशामा केन्द्रित भएको छ । घट्दो निक्षेप ब्याजदर, दसैँंअघिका अन्तिम कारोबारमा देखिएको वृद्धि र बैंकिङ क्षेत्रमा लाभांशप्रतिको अपेक्षाले बजारमा हरियाली फर्किने आशा जगाएका छन् । तर, पर्याप्त तरलता हुँदाहुँदै पनि बजारले अपेक्षित गति लिन नसकेको अवस्थामा लगानीकर्ताको कमजोर मनोबल, नीतिगत अन्योल र नियामकीय ढिलाइ चुनौतीका रूपमा देखिएका छन् ।

सेयर लगानीकर्ता तथा विश्लेषक डम्बर बल्लभ घिमिरेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अर्थतन्त्र र पुँजी बजारलाई गति दिन सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । अर्थमन्त्रीको निर्णय क्षमता र कार्यसम्पादनमा तीव्रता नदेखिँदा लगानीकर्तामा सकारात्मक विश्वास पैदा हुन नसकेको उनको भनाइ छ ।

‘सरकार जुन रफ्तारमा अघि बढेको छ, अर्थमन्त्रीको रफ्तार त्यस्तो देखिएन,’ घिमिरेले भने, ‘अर्थमन्त्री पनि एक्सनमा जाने र कडा निर्णय लिन सक्ने भइदिएको भए अर्थतन्त्रमा केही सकारात्मक परिवर्तन आउन सक्थ्यो ।’

दसैँंअघिको अन्तिम कारोबार दिन असोज ३० मा नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा बन्द भएको थियो । त्यसअघिको कारोबारमा पनि बजार ४.६७ अंकले बढेको थियो । लगातार दुई कारोबारमा देखिएको वृद्धिले बिदापछि बजारप्रति लगानीकर्ताको अपेक्षा बढाए पनि त्यसलाई निरन्तरता दिने आधार अझै स्पष्ट भइसकेको छैन ।

बजारलाई प्रभाव पार्ने अर्को पक्ष निक्षेप ब्याजदरमा आएको गिरावट हो । कात्तिकमा २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा प्रस्ताव गरेका अधिकतम ब्याजदरको औसत ४.०१३ प्रतिशतमा झरेको छ, जुन असोजमा ४.०८९५ प्रतिशत थियो । निक्षेपको प्रतिफल घट्दा केही लगानीकर्ता सेयर बजारतर्फ आकर्षित हुन सक्ने भए पनि ब्याजदरमा आएको गिरावटले मात्रै बजारमा तेजी सुनिश्चित गर्दैन ।

बैंकिङ प्रणालीमा पर्याप्त तरलता उपलब्ध भए पनि त्यसको प्रभाव सेयर बजारमा अपेक्षाअनुसार देखिन सकेको छैन । लगानीका लागि रकम उपलब्ध हुनु र लगानीकर्ता बजारमा प्रवेश गर्न तयार हुनु फरक विषय हुन् । नीतिगत अन्योल, भविष्यको प्रतिफलप्रतिको अनिश्चितता र बजारमा कमजोर विश्वासले लगानी विस्तारलाई रोक्न सक्ने देखिन्छ ।

घिमिरेले सेयर बजारलाई चलायमान बनाउन नियामक निकायमा समयमै पदाधिकारी नियुक्ति र निर्णय प्रक्रियामा तीव्रता आवश्यक रहेको बताएका छन् । महत्त्वपूर्ण सार्वजनिक निकायमा नियुक्ति ढिलो हुनु र नेतृत्वमा पुगेका व्यक्तिबाट समेत अपेक्षित परिणाम नआउनुले बजारमा सकारात्मक सन्देश जान नसकेको उनको भनाइ छ ।

उनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महाप्रबन्धक नियुक्ति हुन नसकेको विषय उठाउँदै नेपाल धितोपत्र बोर्डमा सार्वजनिक निष्कासनसम्बन्धी प्रक्रिया अघि बढाउन पनि तीव्रता आवश्यक रहेको बताए ।

घिमिरेका अनुसार धितोपत्र बोर्डमा ५४ देखि ६८ वटासम्म आईपीओ तथा हकप्रद सेयर निष्कासनसम्बन्धी प्रस्ताव प्रक्रियामा छन् । यस्ता प्रस्तावको प्रक्रिया समयमै अघि बढ्न नसक्दा कम्पनीको पुँजी जुटाउने योजना र लगानीकर्ताले नयाँ लगानीका अवसर प्राप्त गर्ने प्रक्रियामा असर पर्न सक्ने उनको भनाइ छ । ‘धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त भएको तीन महिना भइसक्यो । तर, आईपीओ र हकप्रद सेयर निष्कासनको प्रक्रियामा अपेक्षित गति देखिएको छैन,’ उनले भने ।

उनका अनुसार अर्थमन्त्रीले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा मात्रै केन्द्रित नभई सेयर बजार, निजी क्षेत्र र समग्र अर्थतन्त्रका समस्यालाई पनि प्राथमिकतामा राख्नुपर्छ । नीतिगत स्पष्टता, समयमै निर्णय र प्रभावकारी कार्यान्वयनबिना अर्थतन्त्रलाई गति दिन कठिन हुने उनको तर्क छ । ‘अर्थमन्त्री अर्थनीतिको मुख्य चालक हो । प्रधानमन्त्री र अन्य मन्त्रीले राम्रो काम गरे पनि अर्थमन्त्रीको कार्यशैली कमजोर भयो भने त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ,’ घिमिरेले भने ।

लगानीकर्ताको मनोबल नै मुख्य चुनौती

पछिल्लो समय बैंकिङ समूहका सेयरमा देखिएको आकर्षण, सम्भावित लाभांशप्रतिको अपेक्षा र जलविद्युत् क्षेत्रमा देखिएको उत्साहले बजारलाई केही टेवा दिएका छन् । ठूला पुँजी भएका बैंकहरूको सेयर मूल्यमा सुधार आउँदा त्यसको प्रभाव नेप्सेको समग्र परिसूचकमा समेत पर्न सक्छ । तर, लाभांशको अपेक्षा र प्रारम्भिक मूल्यवृद्धिले मात्रै बजारको दिगो वृद्धि सुनिश्चित गर्दैन ।

बैंकहरूको वास्तविक वित्तीय अवस्था, खराब कर्जाको स्थिति, नाफा कमाउने क्षमता र लाभांश वितरणसम्बन्धी निर्णयले लगानीकर्ताको अपेक्षालाई कति पुष्टि गर्छन् भन्ने महत्त्वपूर्ण हुनेछ । त्यससँगै नियामकीय नीतिमा स्पष्टता र पुँजी बजार सुधारका प्रस्तावको कार्यान्वयनले पनि बजारको आगामी दिशा निर्धारण गर्नेछ ।

घिमिरेले वर्तमान सरकार र अर्थमन्त्रीबाट सेयर बजारमा ठूलो उछाल आउने विश्वास लगानीकर्तामा बलियो नरहेको बताए । बजारलाई माथि उठाउन लगानीकर्ताको मनोबल बढाउने नीति, सहज लगानी वातावरण र स्पष्ट निर्णय आवश्यक रहेको उनको भनाइ छ ।

उनले ठूला व्यवसायीमाथि हुने अनुसन्धान तथा कारबाहीमा कानुनी प्रक्रिया र प्रमाणलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिए । हल्ला वा अप्रमाणित आरोपका आधारमा पक्राउ गर्ने प्रवृत्तिले लगानीकर्तामा त्रास पैदा गर्न सक्ने भन्दै उनले अनुसन्धानलाई प्रमाणमा आधारित बनाउनुपर्ने बताए ।

‘कसैले सेयर बजारबाट यति कमायो भन्ने हल्लाकै भरमा पक्राउ गर्ने होइन । प्रमाणका आधारमा अनुसन्धान हुनुपर्छ र बजारको विश्लेषण गरेर निष्कर्ष निकाल्नुपर्छ,’ उनले भने ।

उनका अनुसार लगानीकर्ताले आफ्नो लगानी सुरक्षित हुने, नीतिगत स्थिरता कायम रहने र सरकारी निकायले समयमै निर्णय गर्ने वातावरण खोजिरहेका छन् । व्यवसायी तथा लगानीकर्तामा त्रास बढाउने गतिविधिले बजारप्रतिको विश्वास कमजोर बनाउन सक्ने उनको भनाइ छ ।

दसैँंपछिको सेयर बजारमा ब्याजदरको गिरावट, सहज तरलता र बैंकिङ क्षेत्रमा लाभांशप्रतिको अपेक्षाले सकारात्मक वातावरण बनाएका छन् । तर, बजारमा वास्तविक हरियाली फर्किने वा बिक्रीको दबाब बढ्ने भन्ने कुरा लगानीकर्ताको मनोबल, कम्पनीहरूको वित्तीय नतिजा, नियामकीय निर्णय र बजारमा खरिद–बिक्रीको सन्तुलनले तय गर्नेछ ।