दसैँपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ४.३४ अंकले घट्दा ४ अर्बको कारोबार
बेनी हाइड्रोपावरको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
काठमाडौँ । दसैँ बिदापछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । दसैँ बिदा अघि निरन्तर सात कारोबार दिन बढेको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज नेप्से, बिदा पछि भने घटेको हो ।
सोमबार नेप्से परिसूचक ४.३४ अंक घटेर २६२९.८२ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत असोज ३० गते ४ अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब २४ लाख रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
बेनी हाइड्रोपावरको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, माथिल्लो मैलुङ्ग खोला जलविद्युतको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । कारोबारमा आएको चिरख्वा हाइड्रोपावरको सेयरमूल्य आज सर्वाधिक ७.९२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ६६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २० करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.११ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशत घटेको छ ।
सोमबार कारोबारमा आएको मध्य ९९ कम्पनीको सेयर मूल्य बढ्दा १७१ कम्पनीको मूल्य घटेको त्यस्तै ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।