निर्धारित समयभन्दा एक वर्षअघि नै फेदीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य
नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको व्यावसायिक उत्पादन मिति (आरसीओडी) सन् २०२८ मे १० कायम छ । तर आयोजनाको वित्तीय प्रगति करिब ९६ प्रतिशत पुगेको र निर्माण कार्यले गति लिएकाले तोकिएको समयभन्दा अगावै उत्पादन सुरु गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । भोजपुरमा निर्माणाधीन ४.३ मेगावाट क्षमताको फेदीखोला (थुम्लुङ) साना जलविद्युत् आयोजनाले निर्धारित समयभन्दा करिब एक वर्षअघि नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । निर्माणको काम अन्तिम चरणमा पुगेपछि कम्पनीले सन् २०२७ को मध्य जनवरीदेखि राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली जोड्ने तयारी गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको व्यावसायिक उत्पादन मिति (आरसीओडी) सन् २०२८ मे १० कायम छ । तर आयोजनाको वित्तीय प्रगति करिब ९६ प्रतिशत पुगेको र निर्माण कार्यले गति लिएकाले तोकिएको समयभन्दा अगावै उत्पादन सुरु गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको लागत बढेर एक अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । सुरुमा ९३ करोड ९० लाख रुपैयाँ अनुमान गरिएको लागत निर्माणमा भएको ढिलाइ र अन्य कारणले बढेको हो । थप लागत प्रवर्द्धकको इक्विटीबाट जुटाइएकाले कम्पनीको ऋणभार भने नबढेको जनाइएको छ ।
आयोजनाका लागि आवश्यक ऋणको व्यवस्थापन पूरा भएको छ भने प्रवर्द्धकबाट शतप्रतिशत इक्विटी रकम जुटिसकेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग ३० वर्षका लागि विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।
सम्झौताअनुसार वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् बिक्री हुनेछ। साथै, आठ वर्षसम्म वार्षिक तीन प्रतिशतका दरले विद्युत् महसुल वृद्धि हुने व्यवस्था छ ।
आयोजनाको भौतिक प्रगति र वित्तीय संरचनामा आएको सुधारसँगै केयर रेटिङ्स नेपालले कम्पनीको रेटिङसमेत बढाएको छ । कम्पनीको रेटिङ ‘बीबी माइनस’बाट ‘बीबी’मा उक्लिएको छ । त्यस्तै, ५० करोड रुपैयाँ बराबरको दीर्घकालीन बैंकिङ सुविधाको रेटिङ पनि ‘बीबी माइनस’बाट ‘बीबी’ कायम गरिएको छ ।
कम्पनीमा जलविद्युत् क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका सञ्चालक तथा व्यवस्थापन टोलीको नेतृत्व रहेको छ । संस्थागत लगानीकर्ताको सहभागिताले पनि कम्पनीको व्यवस्थापन र रणनीतिक योजनामा सहयोग पुगेको जनाइएको छ ।
यद्यपि, नदीको बहावमा हुने उतारचढाव, बाढीपहिरो तथा विद्युत् उत्पादन सुरु भएपछि सञ्चालनलाई दिगो बनाउने विषय आयोजनाका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।