हुलास फिनसर्भको आम्दानी ५८ प्रतिशतले बढ्यो, आईपीओ निष्कासनको तयारी

व्यवसायी शेखर गोल्छाको अध्यक्षतामा रहेको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा १ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा ५७.७२ प्रतिशतले बढेको हो ।

काठमाडौं । व्यवसायी शेखर गोल्छाको अध्यक्षतामा रहेको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा १ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा ५७.७२ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२५ मा ९५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । त्यसअघि सन् २०२४ मा ५३ करोड २० लाख, सन् २०२३ मा ४८ करोड ८० लाख र सन् २०२२ मा ५२ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

आम्दानीसँगै कम्पनीको कर्जा पोर्टफोलियो पनि तीव्र रूपमा विस्तार भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले १२ अर्ब ३४ करोड रुपैयाँ बराबरको पोर्टफोलियो व्यवस्थापन गरेको छ । सन् २०२५ मा ८ अर्ब १८ करोड १० लाख रुपैयाँ रहेको पोर्टफोलियो एक वर्षमा करिब ५१ प्रतिशतले बढेको हो । तीन वर्षअघि सन् २०२३ मा यस्तो पोर्टफोलियो २ अर्ब ६१ करोड रुपैयाँ थियो । यस अवधिमा कम्पनीको पोर्टफोलियो करिब साढे चार गुणाले बढेको छ ।

कम्पनीको नेटवर्थ १ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुगेको छ । सन् २०२५ मा १ अर्ब ४८ करोड ९० लाख रुपैयाँ रहेको नेटवर्थ सन् २०२४ मा १ अर्ब २४ करोड ५० लाख रुपैयाँ थियो । यस्तै, कम्पनीको गियरिङ अनुपात सन् २०२५ को ४.१ गुणाबाट बढेर सन् २०२६ मा ५ गुणा पुगेको छ । हुलास फिनसर्भले प्रिमियम मूल्यमा २० लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले प्रतिकित्ता २५८ रुपैयाँ ८५ पैसा प्रिमियम थपेर ३५८ रुपैयाँ ८५ पैसामा सेयर जारी गर्न लागेको हो । सेयर निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले २०८१ असोजमै एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ ।

सन् २०१२ मा हुलास इन्भेष्टमेन्ट प्रालिका रूपमा दर्ता भएको कम्पनी सन् २०२१ मा हुलास फिनसर्भ लिमिटेडमा परिणत भएको थियो । कम्पनीको ८२ प्रतिशत सेयर हंशराज हुलासचन्द एन्ड कम्पनीको स्वामित्वमा छ भने बाँकी १८ प्रतिशत विभिन्न संस्था तथा व्यक्तिको छ । हुलास अटो क्राफ्ट र हिम इलेक्ट्रोनिक्स प्रालिको पनि कम्पनीमा स्वामित्व रहेको छ । गोल्छा ग्रुपअन्तर्गतको हंशराज हुलासचन्द एन्ड कम्पनीको बहुमत स्वामित्व रहेको हुलास फिनसर्भमा शेखर गोल्छाको व्यक्तिगत स्वामित्व ५ प्रतिशत छ ।

कम्पनीले दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन, घरायसी सामग्री र मोबाइल खरिदका लागि कर्जा उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा प्रवाह गरिएको कर्जामध्ये ४५ प्रतिशत दुईपाङ्ग्रे सवारीसाधन तथा विद्युतीय सामग्री क्षेत्रमा, १८ प्रतिशत मोबाइल क्षेत्रमा र ५ प्रतिशत घरायसी सामग्री क्षेत्रमा व्यवस्थापन गरिएको थियो ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल १३ अर्ब रुपैयाँको क्रेडिट रेटिङ गराएको छ । यसमध्ये दीर्घकालीन कर्जातर्फ १२ अर्ब ४८ करोड रुपैयाँ र अल्पकालीन कर्जातर्फ ५२ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी २२ करोड १० लाख रुपैयाँबाट बढेर ४८ करोड २३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल कर्जा ८ अर्ब २ करोड ५५ लाख रुपैयाँबाट बढेर १२ अर्ब २१ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले निष्क्रिय कर्जा घटाउन पनि सफलता हासिल गरेको छ । अघिल्लो वर्ष ३.४० प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात गत आर्थिक वर्षमा घटेर १.८७ प्रतिशतमा झरेको छ । चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच प्रभावकारी कर्जा असुलीका कारण खराब कर्जा घटाउन सफल भएको कम्पनी व्यवस्थापनको विश्लेषण छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर ४८.०४ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको अन्त्यसम्म ईपीएस २६.०४ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ २२७.४६ रुपैयाँ, रिटर्न अन इक्विटी २१.१२ प्रतिशत, कस्ट अफ फन्ड ५.७७ प्रतिशत र ब्याजदर स्प्रेड ३.३९ प्रतिशत रहेको छ ।

गत असार मसान्तसम्म कम्पनीको साधारण जगेडामा २८ करोड ३९ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा करिब ४० करोड रुपैयाँ नाफा कमाएको कम्पनीको अघिल्लो वर्षसम्मको सञ्चित मुनाफासमेत जोड्दा वितरणयोग्य नाफा ७७ करोड ४० लाख रुपैयाँ पुगेको छ । उक्त रकमका आधारमा कम्पनीले कुल चुक्ता पुँजीको करिब ९३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिन्छ ।