संसदीय उपसमितिमाथि हस्तक्षेप गरेर सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली

उनले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबिच कुनै सम्बन्ध नरहेको पनि दाबी गरिन् । सरकारले आफैँ गठन गरेको अध्ययन समितिको काममा हस्तक्षेप गरेर निर्णय लिने आफूलाई नलागेको उनको भनाई छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई पदबाट नहटाउने विश्वास व्यक्त गरेकी छन् । सार्वजनिक लेखा समिति अन्तर्गतको निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएकी छन् ।

अध्ययन उपसमितिको प्रतिवेदन आउनु अगाडी नै सरकारले हस्तक्षेप गर्न नमिल्ने र सरकारले नगर्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । उनले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबिच कुनै सम्बन्ध नरहेको पनि दाबी गरिन् । सरकारले आफैँ गठन गरेको अध्ययन समितिको काममा हस्तक्षेप गरेर निर्णय लिने आफूलाई नलागेको उनको भनाई छ ।

उनले अध्ययन अनुसन्धानअघि नै निष्कर्षमा पुग्नु न्यायसङ्गत नहुने बताइन् । उपसमितिले निर्वाचन पोसाकसम्बन्धी अध्ययनका क्रममा कुनै पनि व्यक्ति वा पक्षलाई दोषी ठहर गर्ने वा उन्मुक्ति दिने पूर्वधारणाबाट मुक्त भएर निष्पक्ष अध्ययन गर्ने पनि बताइन् । अध्ययनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गर्ने उनको भनाई छ ।

अध्ययनको प्रारम्भिक चरणमै रहेकाले दसैँका कारण बीचमा लामो समय बित्दा अपेक्षित प्रगति हुन नसकेको उनले बताइन् । यद्यपि, सदस्यहरूले व्यक्तिगत रूपमा अध्ययन जारी राखेको उनको भनाइ छ ।