ललितपुरमा ५ दिने फूल महामेला सुरु

आयोजकका अनुसार ३९ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १ करोड ३० लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

काठमाडौं । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै 'रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि' भन्ने नाराका साथ प्रदर्शनी आजदेखि सुरु भएको हो । आजदेखि सुरु भएको मेला ५ दिनसम्म चल्नेछ । यस वर्षको प्रदर्शनीमा कुल ८६ वटा स्टल छन्, जसअन्तर्गत ७८ वटा व्यावसायिक, १ प्लान्ट क्लिनिक, ४ अफिसियल, २ प्रतियोगितात्मक र १ फोटो सेल्फी स्टल समावेश छन्। मेलामा नेपालमा उत्पादित विविध जातका गोदावरीका साथै यसै वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाहरू प्रदर्शनी एवम् बिक्री-वितरणका लागि राखिएको छ । प्रदर्शनीमा सहभागी नर्सरी तथा फार्महरूबिच मिनियचर, स्पाईडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी गोदावरीका ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइएको आयोजकले जनाएका छन् । 

साथै, उत्कृष्ट स्टल र यसै वर्ष थपिएको उत्कृष्ट पुष्प सजावट विधाका विजेताहरूलाई सिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने जनाइएको छ । आयोजकका अनुसार ३९ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १ करोड ३० लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।