वैदेशिक लगानी प्रतिबद्धता १८ अर्ब ९० करोडले घट्यो, तीन महिनामा १६ अर्ब मात्रै

विभागको तथ्यांकअनुसार असोजसम्म कुल ४२२ उद्योग दर्ता भएका छन् । तीमध्ये ४१० उद्योग अटोमेटिक रुट र १२ उद्योग स्वीकृति प्रक्रियामार्फत दर्ता भएका हुन् ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता उल्लेख्य रूपमा घटेको छ । साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ३५ अर्ब १३ करोड रुपैयाँ बराबरको एफडीआई स्वीकृत भएको थियो । यस वर्षको पहिलो त्रैमासमा गत वर्षको तुलनामा लगानी प्रतिबद्धता १८ अर्ब ९० करोड रुपैयाँले घटेको हो ।

विभागको तथ्यांकअनुसार असोजसम्म कुल ४२२ उद्योग दर्ता भएका छन् । तीमध्ये ४१० उद्योग अटोमेटिक रुट र १२ उद्योग स्वीकृति प्रक्रियामार्फत दर्ता भएका हुन् ।

असोज महिनामा मात्रै ५ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । यस अवधिमा ९४ उद्योग दर्ता भएकामा ८८ उद्योग अटोमेटिक रुटबाट आएका छन् ।

दर्ता भएका उद्योगको आकार हेर्दा साना उद्योगको बाहुल्य देखिएको छ । पहिलो तीन महिनामा ४१७ साना, दुई मझौला र तीन ठूला उद्योग दर्ता भएका छन् । असोजमा दर्ता भएका सबै उद्योग साना प्रकृतिका रहेको विभागले जनाएको छ ।

संख्याका आधारमा सूचना प्रविधिसम्बन्धी उद्योग सबैभन्दा अगाडि छन् । असोजसम्म २५२ सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन् । त्यस्तै, पर्यटनमूलक १०८, सेवामूलक ३३ र उत्पादनमूलक २५ उद्योग दर्ता भएका छन् । ऊर्जा र कृषितर्फ दुई–दुई उद्योग दर्ता भएका छन् ।

लगानी रकमका आधारमा भने पर्यटन क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ । पर्यटन क्षेत्रमा ६ अर्ब ८ करोड रुपैयाँ लगानी स्वीकृत हुँदा ऊर्जा क्षेत्रमा चार अर्ब रुपैयाँ र पूर्वाधारमूलक उद्योगमा तीन अर्ब ५७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

त्यस्तै, उत्पादनमूलक उद्योगमा एक अर्ब ६० करोड रुपैयाँ र सूचना प्रविधिमूलक उद्योगमा ९२ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको उद्योग विभागको तथ्यांक छ ।