काठमाडौंमा ८ दिन लोडसेडिङ, कुन दिन कहाँ जानेछ बत्ती ?
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत लाइन विस्तारको काम गरिने भएकाले बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ ।
काठमाडौं । विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ । प्राधिकरणले विद्युत् तार भूमिगत गर्ने कामका लागि आजदेखि कात्तिक २० गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् सेवा बन्द गर्न लागेको हो । प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत लाइन विस्तारको काम गरिने भएकाले बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुनेछ ।
निर्धारित कार्यतालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट र मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् सेवा बन्द हुनेछ ।
त्यस्तै, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । कात्तिक १५ गते कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्मका उपभोक्ता प्रभावित हुनेछन् ।
कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म विद्युत् कटौती गरिनेछ । यसैगरी, कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजारसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।
कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाज्मा पुल क्षेत्रमा र कात्तिक २० गते पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने तालिका छ ।
प्राधिकरणले सबै क्षेत्रमा एकैपटक वा लगातार विद्युत् कटौती नहुने स्पष्ट पारेको छ । तोकिएको फिडरअन्तर्गतका क्षेत्रमा सम्बन्धित दिन र समयमा मात्रै सेवा बन्द हुनेछ । निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् आपूर्ति छिट्टै सञ्चालन हुन सक्नेछ भने प्रतिकूल मौसमका कारण कार्यतालिका परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ ।