कर्णालीमा कुल कर्जाको ८५ प्रतिशत सेवा क्षेत्रमा, एक वर्षमा कृषि कर्जा १.५६ प्रतिशतले घट्यो
एक वर्षमा निक्षेप २२ प्रतिशतले बढ्दा कर्जा विस्तार ९.७९ प्रतिशतमा सीमित, सुर्खेतमा मात्रै आधाभन्दा बढी कर्जा केन्द्रित
प्रदेशको कुल कर्जाको आधाभन्दा बढी हिस्सा राजधानी सुर्खेतमा केन्द्रित रहेको छ। सुर्खेतमा सेवा क्षेत्रको कुल कर्जामध्ये ६१.९८ प्रतिशत, औद्योगिक कर्जाको ५६.५१ प्रतिशत र कृषि कर्जाको ३२.७९ प्रतिशत हिस्सा रहेको छ।
काठमाडौं । कर्णाली प्रदेशको अर्थतन्त्रमा कृषिको योगदान करिब एकतिहाइ भए पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा भने कृषि क्षेत्र उपेक्षामा परेको देखिएको छ। प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३१.५२ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जाको ७.२७ प्रतिशत मात्रै लगानी भएको छ । उल्टै गत आर्थिक वर्षमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो वर्षको तुलनामा १.५६ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार कर्णालीमा प्रवाह भएको कुल कर्जाको ८५.२१ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगटेको छ । उत्पादन, रोजगारी र आर्थिक आत्मनिर्भरताको आधार मानिने कृषि तथा उद्योग क्षेत्रमा भने बैंकहरूको लगानी तुलनात्मक रूपमा निकै न्यून देखिएको हो ।
आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन २ खर्ब ७७ अर्ब २५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । उपभोक्ता मूल्यमा नेपालको कुल अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिँदा राष्ट्रिय अर्थतन्त्रमा कर्णालीको योगदान ४.२० प्रतिशत मात्रै रहने देखिएको छ । सबै प्रदेशमध्ये कर्णालीको योगदान सबैभन्दा कम हो ।
राष्ट्रिय स्तरमा आर्थिक वृद्धिदर ३.८९ प्रतिशत रहने प्रक्षेपण गरिँदा कर्णालीको आर्थिक वृद्धिदर भने २.९४ प्रतिशतमा सीमित रहने प्रारम्भिक अनुमान छ । प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान सबैभन्दा धेरै ५८.४१ प्रतिशत छ। त्यसपछि कृषि क्षेत्रको ३१.५२ प्रतिशत र उद्योग क्षेत्रको १०.०७ प्रतिशत योगदान रहेको छ ।
तर अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिने कृषिमा बैंकहरूको लगानी भने कमजोर देखिएको छ। गत आर्थिक वर्षमा कृषि क्षेत्रमा जम्मा ४ अर्ब ९० करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो प्रदेशमा प्रवाह भएको कुल कर्जाको ७.२७ प्रतिशत मात्रै हो । कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन तथा पशु बधशाला क्षेत्रमा १ अर्ब ११ करोड ४४ लाख रुपैयाँ लगानी भएको छ। अन्नबाली, फलफूल तथा अन्य कृषि व्यवसायमा भने न्यून कर्जा प्रवाह भएको प्रतिवेदनले देखाएको छ ।
सेवा क्षेत्रमा ८५ प्रतिशतभन्दा बढी कर्जा
कर्णालीमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी सेवा क्षेत्रमा अत्यधिक केन्द्रित छ। गत आर्थिक वर्षमा सेवा क्षेत्रतर्फको कर्जा ८.३४ प्रतिशतले बढेर ५७ अर्ब ५२ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यो प्रदेशमा प्रवाह भएको कुल कर्जाको ८५.२१ प्रतिशत हो ।
सेवा क्षेत्रभित्र पनि उत्पादनमूलक तथा व्यावसायिक सेवाभन्दा उपभोग्य प्रकृतिको व्यक्तिगत कर्जाको हिस्सा ठूलो छ । बैंकहरूले उपभोग्य क्षेत्रमा मात्रै २९ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेका छन्। यसबाहेक शिक्षा, पर्यटन, वित्त तथा घरजग्गा क्षेत्रतर्फ पनि उल्लेख्य कर्जा प्रवाह भएको छ ।
यसले प्रदेशको अर्थतन्त्रमा उत्पादन र रोजगारी विस्तारका लागि आवश्यक क्षेत्रमा भन्दा सेवा तथा उपभोगमा बैंकहरूको कर्जा बढी केन्द्रित रहेको देखाउँछ ।
औद्योगिक कर्जामा निर्माण क्षेत्रको दबदबा
कर्णालीमा औद्योगिक क्षेत्रतर्फको कर्जा प्रवाह पनि सीमित छ । गत आर्थिक वर्षमा औद्योगिक क्षेत्रमा ५ अर्ब ७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो कुल कर्जाको ७.५२ प्रतिशत मात्रै हो ।
यद्यपि अघिल्लो वर्ष १.९४ प्रतिशतले घटेको औद्योगिक कर्जा गत आर्थिक वर्षमा भने २५.६३ प्रतिशतले बढेको छ। औद्योगिक कर्जामध्ये सबैभन्दा धेरै ३५.९९ प्रतिशत निर्माणसम्बन्धी उद्योगमा लगानी भएको छ । गैरखाद्य वस्तु उत्पादनमा २५.१८ प्रतिशत, कृषि तथा वनजन्य उद्योगमा १९.९४ प्रतिशत र धातु तथा मेसिनरी उद्योगमा ११.७५ प्रतिशत कर्जा प्रवाह भएको छ । खानीजन्य उद्योगमा भने सबैभन्दा कम १.२९ प्रतिशत मात्रै कर्जा गएको छ ।
निक्षेप बढ्दा कर्जा विस्तार सुस्त
कर्णालीमा बैंकिङ सञ्जाल विस्तारसँगै निक्षेप सङ्कलन बढे पनि कर्जा प्रवाहको गति भने तुलनात्मक रूपमा सुस्त देखिएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले प्रदेशबाट अघिल्लो वर्षको तुलनामा २२.०३ प्रतिशतले बढी निक्षेप सङ्कलन गरेका छन्। यससँगै प्रदेशको कुल निक्षेप १ खर्ब ११ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।
तर सोही अवधिमा कर्जा प्रवाह भने ९.७९ प्रतिशतले मात्रै बढेर ६६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । निक्षेपको तुलनामा कर्जा विस्तार कम हुँदा प्रदेशको कर्जा–निक्षेप अनुपात अघिल्लो वर्षको ६६.८५ प्रतिशतबाट घटेर ६०.१५ प्रतिशतमा झरेको छ ।
यसले कर्णालीमा सङ्कलित निक्षेपको तुलनामा प्रदेशभित्र कर्जा लगानी कम भएको देखाउँछ । प्रदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसक्दा स्थानीय स्रोत परिचालन र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर रहेको प्रतिवेदनको तथ्याङ्कले देखाएको छ ।
सुर्खेतमा आधाभन्दा बढी कर्जा केन्द्रित
कर्णाली प्रदेशभित्र कर्जा प्रवाहको भौगोलिक वितरणमा समेत ठूलो असमानता छ । प्रदेशको कुल कर्जाको आधाभन्दा बढी हिस्सा राजधानी सुर्खेतमा केन्द्रित रहेको छ । सुर्खेतमा सेवा क्षेत्रको कुल कर्जामध्ये ६१.९८ प्रतिशत, औद्योगिक कर्जाको ५६.५१ प्रतिशत र कृषि कर्जाको ३२.७९ प्रतिशत हिस्सा रहेको छ।
यसको विपरीत हुम्ला, डोल्पा, मुगु र कालिकोटजस्ता दुर्गम जिल्लामा क्षेत्रगत कर्जाको हिस्सा १ देखि ३ प्रतिशतसम्म पनि पुगेको छैन । कुल औद्योगिक कर्जामा डोल्पाको हिस्सा ०.२८ प्रतिशत मात्रै छ भने कृषि कर्जामा मुगुको हिस्सा २.७४ प्रतिशत रहेको छ ।
बैंकिङ पहुँच विस्तार भए पनि कर्जा लगानी भने सुगम जिल्लामा बढी केन्द्रित हुँदा दुर्गम क्षेत्रका आर्थिक गतिविधिले पर्याप्त वित्तीय स्रोत पाउन नसकेको देखिन्छ।
२०८३ असार मसान्तसम्म कर्णालीका १० वटै जिल्लामा वाणिज्य बैंकका २१६, विकास बैंकका २१, वित्त कम्पनीका ३ र लघुवित्त वित्तीय संस्थाका २४१ गरी कुल ४८१ शाखा सञ्चालनमा छन्। सुर्खेतमा सबैभन्दा धेरै १३९ शाखा हुँदा हुम्लामा १३ र मुगुमा १४ शाखा मात्रै रहेका छन् ।