प्रहरीको धरपकडपछि सञ्चारमन्त्रीले भने- प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत सबै पत्रकार रिहा भएको जानकारी दिँदै सरकार प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको बताएका हुन् ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकारलाई प्रहरीले रिहा गरिसकेको बताएका छन् ।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत सबै पत्रकार रिहा भएको जानकारी दिँदै सरकार प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको बताएका हुन् । उनले प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गरेका छन् ।
यसअघि प्रहरीले नेपाल प्रेसको कार्यालयमा प्रवेश गरी पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको थियो । यस्तै, नेपाल प्रेसका अध्यक्ष विन्दुराज लम्साल र प्रधानसम्पादक मातृका पौडेललाई समाचारको स्रोतबारे सोधपुछ गर्न साइबर ब्यूरोमा बोलाइएको थियो ।
यसैगरी नयाँ पत्रिकाको कार्यालयमा समेत प्रहरी पुगेपछि सञ्चार क्षेत्रबाट विरोध भएको थियो ।