एनएमबी बैंकको नाफा २७ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब १६ करोड
इम्पेयरमेन्ट चार्ज घट्दा सञ्चालन मुनाफामा उछाल, प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८३ पैसा पुग्यो
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ।
काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढेको हो ।
बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले १ अर्ब १६ करोड ४२ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको यस्तो नाफा ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ थियो ।
बैंकको नाफा वृद्धिमा जोखिम व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम घट्नु र सञ्चालन आम्दानी बढ्नु मुख्य कारण देखिएका छन् । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा बैंकले यस शीर्षकमा ७१ करोड ३९ लाख ६२ हजार रुपैयाँ छुट्याएको थियो ।
इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकको सञ्चालन मुनाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड ६ लाख रुपैयाँ पुगेको छ । यसले खुद नाफा वृद्धिमा उल्लेख्य योगदान पुर्याएको छ । बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा ४.१९ प्रतिशतले बढेर २ अर्ब ५९ करोड १५ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
गैरब्याज आम्दानीतर्फ भने खुद शुल्क तथा कमिसन आम्दानी सामान्य बढेको छ । यस्तो आम्दानी ०.७५ प्रतिशतले बढेर ७२ करोड १५ लाख ७४ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले यस शीर्षकबाट ७१ करोड ६१ लाख रुपैयाँ कमाएको थियो। यसैगरी, खुद ट्रेडिङ आम्दानी २० करोड ७० लाख र अन्य सञ्चालन आम्दानी १२ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
बैंकले पहिलो तीन महिनामा निक्षेप र कर्जा दुवै विस्तार गरेको छ। गत असार मसान्तको तुलनामा ग्राहक निक्षेप २.१८ प्रतिशतले बढेर ३ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तमा यस्तो निक्षेप ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ थियो ।
यसैगरी, बैंकको कर्जा प्रवाह ३.५४ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा बैंकको कुल कर्जा २ खर्ब ४९ अर्ब ६१ करोड रुपैयाँ थियो ।
यद्यपि, बैंकको निष्क्रिय कर्जाको अनुपात भने गत वर्षको तुलनामा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.५८ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा (एनपीएल) समीक्षा अवधिमा ४.९२ प्रतिशत पुगेको छ। तर, गत असार मसान्तको ४.९७ प्रतिशतको तुलनामा भने यसमा सामान्य सुधार आएको छ ।
खुद निष्क्रिय कर्जा (नेट एनपीएल) भने १.८६ प्रतिशतबाट घटेर १.६० प्रतिशतमा झरेको छ । कुल निष्क्रिय कर्जाबापत गरिएको कर्जा नोक्सानी व्यवस्थापनको कभरेजसमेत ९२.३३ प्रतिशतबाट बढेर ९४.५३ प्रतिशत पुगेको छ ।
ब्याजदर घट्दो क्रममा रहेसँगै बैंकको कोषको लागत र आधार दरमा पनि गिरावट आएको छ । बैंकको कोषको लागत ४.०५ प्रतिशतबाट घटेर ३.३७ प्रतिशतमा झरेको छ भने आधार दर ५.८९ प्रतिशतबाट घटेर ४.९५ प्रतिशत कायम भएको छ । औसत ब्याजदर अन्तर (स्प्रेड दर) पनि ३.८९ प्रतिशतबाट घटेर ३.४४ प्रतिशतमा सीमित भएको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८४.७१ प्रतिशत रहेको छ ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १९ रुपैयाँ रहेको वार्षिकीकरण गरिएको ईपीएस समीक्षा अवधिमा बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ ।
त्यस्तै, बैंकको पुँजीमा प्रतिफल (आरओई) ११.२६ प्रतिशतबाट बढेर १२.४२ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल (आरओए) १.०३ प्रतिशतबाट बढेर १.१० प्रतिशत कायम भएको छ ।
यस अवधिमा बैंकको मूल्य–आम्दानी अनुपात ११.४३ गुणा रहेको छ। अग्राधिकार सेयरसहित २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ३२ पैसा र पुँजी पर्याप्तता अनुपात १२.५३ प्रतिशत रहेको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब २५ करोड ७२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव भए पनि साधारणसभाबाट पारित हुन बाँकी रहेकाले यस्तो नाफा कायम भएको हो ।