पूर्वराजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति खोज्दै सरकार, सबै स्थानीय तहलाई पत्राचार
पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा दर्ता रहेका वा उनीहरूको हक, स्वामित्व तथा भोगाधिकार कायम हुन सक्ने नेपालभित्रका सम्पत्तिको विवरण संकलन गर्न लागिएको हो ।
काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा नेपालभित्र रहेका सम्पत्तिको खोजी तथा अभिलेखीकरण गर्ने प्रक्रिया अघि बढाएको छ ।
यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका गाउँपालिका र नगरपालिकालाई पत्र पठाउँदै उनीहरूको नाममा रहेका चल तथा अचल सम्पत्तिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई पत्राचार गर्दै जग्गा जमिनसहितका सम्पत्तिको विवरण संकलनमा सहयोग गर्न अनुरोध गरेको हो ।
नेपाल ट्रष्ट ऐन, नेपाल ट्रष्ट नियमावली २०६४ तथा सम्पत्ति खोजबिन कार्यविधि २०६७ मा भएको व्यवस्थाअनुसार सम्पत्ति पहिचानको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा दर्ता रहेका वा उनीहरूको हक, स्वामित्व तथा भोगाधिकार कायम हुन सक्ने नेपालभित्रका सम्पत्तिको विवरण संकलन गर्न लागिएको हो । मन्त्रालयले सम्बन्धित स्थानीय तहसँग जग्गाधनी प्रमाणपुर्जा, जग्गाधनी दर्ता स्रेस्ता, फिल्डबुकलगायत सम्पत्तिसँग सम्बन्धित अभिलेख र कागजात माग गरेको छ । संकलित विवरण नेपाल ट्रष्टको कार्यालयमा पठाउनसमेत निर्देशन दिइएको छ ।
यसअघि नेपाल ट्रष्टको कार्यालय कमलादीले कात्तिक ९ गते सम्पत्ति खोजबिनका विषयमा छलफल गरी आवश्यक समन्वय तथा सहजीकरणका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाएको थियो ।
नेपाल ट्रष्टको अनुरोधपछि मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थीले सबै स्थानीय तहलाई विवरण उपलब्ध गराउन पत्राचार गरेका हुन् ।