प्रभु बैंकको नाफा ८ प्रतिशतले बढ्यो, निष्क्रिय कर्जा भने १४.८० प्रतिशत पुग्यो
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ५८ करोड ८६ लाख ९३ हजार रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ३७ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार असोज मसान्तसम्म ६० करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.१० प्रतिशत बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज घटेर ५८ करोड ८६ लाख ९३ हजार रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ३७ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी भने घटेको छ। गत वर्ष २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष घटेर २ अर्ब ३३ करोड ४७ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ। त्यस्तै, सञ्चालन आम्दानी पनि १ अर्ब १७ करोड २० लाख ८५ हजार रुपैयाँबाट घटेर १ अर्ब १५ करोड ४५ लाख २७ हजार रुपैयाँ कायम भएको छ।
बैंकको वित्तीय विवरणअनुसार वितरणयोग्य नाफा ६ अर्ब ७८ करोड ७७ लाख ३ हजार रुपैयाँ ऋणात्मक रहेको छ। यस्तै, निष्क्रिय कर्जाको अनुपात उल्लेख्य बढेर १४.८० प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ५.७८ प्रतिशत थियो।
बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब ६ लाख ९७ हजार रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले ३ खर्ब ५० अर्ब २ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ११ अर्ब १३ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ६४ पैसा रहेको छ।