घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक, कर्जा जोखिम घट्दा १० करोड नाफा
समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३७.९३ प्रतिशतले घटेर १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपैयाँ कायम भएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ। बैंकले असोज मसान्तसम्म १० करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक २२ करोड ४ लाख ११ हजार रुपैयाँ घाटामा थियो ।
बैंकको नाफामा सुधार आउनुको प्रमुख कारण कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्नु हो । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ३७.९३ प्रतिशतले घटेर १ अर्ब ७ करोड ८५ लाख २० हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब ७३ करोड ७४ लाख ९४ हजार रुपैयाँ थियो । यसरी कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याइएको रकम ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँले घटेको छ ।
यद्यपि, बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ६६ करोड ६२ लाख ६३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवमा ७.४९ प्रतिशतले घटेर १ अर्ब ५४ करोड १५ लाख १६ हजार रुपैयाँमा झरेको छ ।
यस अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ५.०७ प्रतिशतले बढेर ३६ करोड ८८ लाख ३९ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो आम्दानी ३५ करोड १० लाख २५ हजार रुपैयाँ थियो । तर, खुद ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानी १८.८६ प्रतिशतले घटेर १६ करोड ३ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन खर्च भने १.६५ प्रतिशतले बढेर ८६ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।
व्यवसाय विस्तारतर्फ बैंकले निक्षेप र कर्जा दुवै बढाएको छ। असोज मसान्तसम्म बैंकको निक्षेप संकलन १२.७८ प्रतिशतले वृद्धि भई २ खर्ब ४२ अर्ब ७३ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ खर्ब १५ अर्ब २२ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
त्यस्तै, कर्जा प्रवाह ४.२१ प्रतिशतले बढेर १ खर्ब ८३ अर्ब ४९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा यस्तो कर्जा १ खर्ब ७६ अर्ब ८ करोड १ लाख रुपैयाँ थियो ।
बैंकको निष्क्रिय कर्जा अनुपातमा भने सामान्य सुधार देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ६.८४ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा घटेर ६.८० प्रतिशत कायम भएको छ । तर, गत आर्थिक वर्षको अन्त्यमा रहेको ५.७८ प्रतिशतको तुलनामा भने यो अनुपात अझै बढी हो । निष्क्रिय कर्जाका लागि गरिएको नोक्सानी व्यवस्थाको कभरेज पनि ९०.६५ प्रतिशतबाट घटेर ८७.९० प्रतिशतमा झरेको छ ।
ब्याजदरमा आएको गिरावटसँगै बैंकको निक्षेप लागत र आधार दर पनि घटेको छ । गत वर्ष ४.०५ प्रतिशत रहेको निक्षेपको लागत चालु आवमा ३.१५ प्रतिशत कायम भएको छ । त्यस्तै, आधार दर ५.९० प्रतिशतबाट घटेर ४.८७ प्रतिशतमा झरेको छ । बैंकको औसत ब्याजदर अन्तर ३.७९ प्रतिशतबाट घटेर ३.३९ प्रतिशत भएको छ ।
बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) पनि ८१.९० प्रतिशतबाट घटेर ७५.४५ प्रतिशत कायम भएको छ । यसले बैंकको निक्षेपको तुलनामा कर्जा परिचालनको अनुपात घटेको देखाउँछ ।
नाफामा फर्किएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ऋणात्मक अवस्थाबाट सकारात्मक भएको छ । गत वर्षको पहिलो त्रैमासमा ५ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको प्रतिसेयर आम्दानी चालु आवमा २ रुपैयाँ ६८ पैसा पुगेको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात १२.०८ प्रतिशत र प्राथमिक पुँजी पर्याप्तता अनुपात ८.८३ प्रतिशत रहेको छ । यद्यपि, बैंकको वितरणयोग्य रकम भने ४५ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।