ग्लोबल आइएमई बैंकको नाफा २४ प्रतिशत बढ्यो, तीन महिनामै कमायो २ अर्ब ३१ करोड
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले असोज मसान्तसम्म २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार बैंकको नाफा २४.४८ प्रतिशतले बढेको छ ।
बैंकको नाफासँगै खुद ब्याज आम्दानी, कर्जा प्रवाह र प्रतिसेयर आम्दानीमा समेत सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ थियो । यसअनुसार खुद ब्याज आम्दानी १.४५ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा बैंकले १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ६ अर्ब ८ लाख ६४ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा २ अर्ब ७ करोड २ लाख २० हजार रुपैयाँ पुगेको छ । यसका आधारमा बैंकको लाभांश क्षमता १७.७५ प्रतिशत कायम भएको छ ।
बैंकको नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा १९.५१ रुपैयाँ रहेको ईपीएस यस वर्ष बढेर २३.३५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५.७७ रुपैयाँ र मूल्य–आम्दानी अनुपात १०.८८ गुणा रहेको छ ।
असोज मसान्तसम्म बैंकको निक्षेप संकलन ६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । यसअनुसार निक्षेप ३.११ प्रतिशतले बढेको हो ।
त्यस्तै, बैंकको कर्जा प्रवाह ७.४८ प्रतिशतले बढेर ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोज मसान्तसम्म बैंकको कर्जा लगानी ४ खर्ब ३९ अर्ब ८ करोड ८५ लाख रुपैयाँ थियो । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७०.११ प्रतिशत कायम रहेको छ ।
नाफा र कर्जा प्रवाहमा सुधार देखिएको बैंकले खराब कर्जा अनुपातसमेत घटाएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ४.९८ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.७९ प्रतिशतमा झरेको छ ।
यसरी ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमा नाफा, खुद ब्याज आम्दानी, कर्जा प्रवाह र प्रतिसेयर आम्दानीमा सुधार गरेको छ। वितरणयोग्य नाफा २ अर्बभन्दा माथि पुग्नु र खराब कर्जा अनुपात घट्नु बैंकको वित्तीय विवरणका सकारात्मक पक्ष हुन् ।