नेपाल बैंकको नाफा ४१ प्रतिशत बढ्यो, लाभांश क्षमता १८.७३ प्रतिशत

खुद ब्याज आम्दानी घटे पनि सञ्चालन आम्दानी र अन्य आम्दानीको योगदानले बैंकको नाफामा उल्लेख्य सुधार आएको हो ।

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४१.४५ प्रतिशतले बढाएको छ । खुद ब्याज आम्दानी घटे पनि सञ्चालन आम्दानी र अन्य आम्दानीको योगदानले बैंकको नाफामा उल्लेख्य सुधार आएको हो ।

बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ८३ करोड २१ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५६ करोड ९५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा ३.११ प्रतिशतले घटेर २ अर्ब ४८ करोड ९५ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकले खुद शुल्क तथा कमिसन आम्दानीबापत ३५ करोड १० लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब १३ करोड ६२ लाख ५२ हजार रुपैयाँ र सञ्चालन मुनाफा ९९ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

नाफामा भएको वृद्धिसँगै बैंकको लाभांश क्षमता १८.७३ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड २८ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ५८ करोड ९८ लाख ५३ हजार रुपैयाँ सञ्चित छ ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप तथा कर्जा दुवै बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप संकलन ४.५६ प्रतिशतले बढेर ४ खर्ब ३४ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको असोज मसान्तमा बैंकसँग ४ खर्ब १५ अर्ब १८ करोड २० लाख रुपैयाँ निक्षेप थियो ।

त्यस्तै, बैंकको कर्जा प्रवाह २.६६ प्रतिशतले बढेर २ खर्ब ५० अर्ब ७ करोड ५९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको कर्जा लगानी २ खर्ब ४३ अर्ब ५९ लाख ६ हजार रुपैयाँ रहेको थियो । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६१.६३ प्रतिशत कायम भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ रुपैयाँ १ पैसा रहेको ईपीएस चालु आवको समीक्षा अवधिमा बढेर २२ रुपैयाँ ६५ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २९२ रुपैयाँ ८९ पैसा र मूल्य आम्दानी अनुपात १३.४२ गुणा रहेको छ ।

यसैगरी, बैंकले खराब कर्जा अनुपातमा समेत सुधार गरेको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ५.४९ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आवको असोज मसान्तमा घटेर ४.६१ प्रतिशतमा झरेको छ ।