स्ट्याण्डर्ड चार्टर्डको खुद नाफा ६७ करोडमा सीमित, ब्याज आम्दानी पनि घट्यो
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ६७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार बैंकको नाफा करिब ३ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ७ करोड २४ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालू आवमा १ अर्ब २ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । बैंकको कुल सञ्चालन आम्दानी भने १ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ कायम भएको छ ।
खुद नाफा घटे पनि बैंकको सञ्चालन नाफामा सुधार देखिएको छ । इम्पेयरमेन्ट चार्ज रिभर्सलमा भएको सुधारसँगै गत वर्ष ९८ करोड ९३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा बढेर १ अर्ब ८ करोड २३ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति १ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले १ खर्ब ४९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष २७ रुपैयाँ ५७ पैसा रहेको प्रतिसेयर आम्दानी चालू आवको पहिलो त्रैमासमा २६ रुपैयाँ ७४ पैसामा झरेको छ। त्यस्तै, बैंकको निष्क्रिय कर्जा अनुपात १.७१ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ ।
बैंकको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ११ अर्ब रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा वितरणयोग्य मुनाफा भने घटेर २ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो मुनाफा २ अर्ब ४१ करोड रुपैयाँ थियो ।