पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा १९ अर्बभन्दा बढी, नबिलको नाफा सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यस अवधिमा अधिकांश बैंकको नाफा बढेको छ भने केही बैंकको नाफामा सामान्य गिरावट आएको छ ।

पहिलो त्रैमासमा १० वटा बैंकले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक पहिलो स्थानमा रहेको छ। नबिलले तीन महिनाको अवधिमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाउँदै तेस्रो स्थान हासिल गरेको छ ।

एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ भने प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समान १ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यसैगरी, एनएमबि बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन् ।

यस अवधिमा सिटिजन्स बैंकले उल्लेखनीय सुधार गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ घाटामा रहेको बैंक चालु आर्थिक वर्षको सोही अवधिमा १० करोड रुपैयाँ खुद नाफामा फर्किएको छ ।

त्यस्तै, लक्ष्मी सनराइज, प्रभु र सिद्धार्थ बैंकको खुद नाफा पनि गत वर्षको पहिलो त्रैमासको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

समग्रमा वाणिज्य बैंकहरूको वित्तीय विवरणले पहिलो त्रैमासमा अधिकांश बैंकको नाफा बढेको देखाएको छ । यद्यपि, केही बैंकले भने अघिल्लो वर्षको तुलनामा नाफा वृद्धि गर्न सकेका छैनन् ।