नेप्सेमा ३२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
अघिल्लो कारोबार दिन ५ अंकले घटेको नेप्सेमा यस दिन गिरावट थप फराकिलो भएको हो । परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ । अघिल्लो दिन ८ अर्ब ८९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार ७ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै दबाबमा रहेको बजार दिनभर सम्हालिन नसक्दा नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६५७ बिन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिन ५ अंकले घटेको नेप्सेमा यस दिन गिरावट थप फराकिलो भएको हो । परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ । अघिल्लो दिन ८ अर्ब ८९ करोड रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार ७ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।
यस दिन कारोबार भएका कम्पनीमध्ये २१ वटाको शेयर मूल्य बढेको छ भने २५२ वटाको घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रह्यो । बजारका सबै १३ उपसमूहका सूचक राताम्य भएका छन् ।
उपसमूहतर्फ विकास बैंकमा सबैभन्दा धेरै १.८८ प्रतिशत गिरावट आएको छ । त्यस्तै निर्जीवन बीमा १.७२, अन्य १.६१, फाइनान्स १.५३, लगानी १.४२, माइक्रोफाइनान्स १.१६, जलविद्युत् १.०८ र बैंकिङ समूह १.०७ प्रतिशत घटेका छन् । यसैगरी उत्पादन तथा प्रशोधन समूह ०.९०, व्यापार ०.८६, होटल तथा पर्यटन ०.६३ र जीवन बीमा समूह १.४७ प्रतिशतले घटेका छन् ।
बजार समग्रमा घटे पनि बेनी हाइड्रोपावरको शेयर मूल्य भने १५ प्रतिशतले बढेर सबैभन्दा धेरै वृद्धि हुने कम्पनी बनेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको ८.७७, मन्दाकिनी हाइड्रोपावरको ५.४७, एनआईसी एसिया बैंकको ३.०२ र बुटवल पावर कम्पनीको २.४८ प्रतिशतले मूल्य बढेको छ ।
घट्ने कम्पनीतर्फ झापा इनर्जीको शेयर मूल्य ४.११ प्रतिशतले घटेको छ । त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको ४.०८, एनएलजी इन्स्योरेन्सको ३.८३ र माउन्ट एभरेस्ट पावरको ३.५६ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, ग्रिन भेन्चर्स, एनआईसी एसिया बैंक र प्राइम कमर्सियल बैंक अगाडि रहेका छन् ।