तीन महिनामै विद्युत् निर्यातबाट १६ अर्ब बढी आम्दानी, भारततर्फ निर्यात क्षमता १ हजार १७९ मेगावाट पुग्यो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामध्ये असोजमा मात्रै भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट प्राधिकरणले ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा विद्युत् निर्यात गरेर १६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । साउनदेखि असोजसम्म विद्युत् बिक्रीबाट नेपाल विद्युत् प्राधिकरणले १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो १५ दिनको कार्यप्रगति विवरणमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो अवधिमा भारततर्फ विद्युत् निर्यात गर्ने क्षमता थप विस्तार भएको छ भने बाढीका कारण अवरुद्ध बङ्गलादेशतर्फको निर्यातसमेत पुनः सञ्चालनमा आएको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामध्ये असोजमा मात्रै भारततर्फ ६३ करोड ३९ लाख युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट प्राधिकरणले ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको मन्त्रालयले जनाएको छ । यसैबीच, भारततर्फ विद्युत् निर्यातका लागि थप ३१ मेगावाटको अनुमति प्राप्त भएको छ । नयाँ अनुमति थपिएसँगै भारततर्फ विद्युत् निर्यात गर्न सकिने नेपालको कुल क्षमता १ हजार १७९ मेगावाट पुगेको छ ।

भारतबाट थप विद्युत् निर्यातको स्वीकृति प्राप्त हुनुले नेपालको विद्युत् व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, केही समयअघि आएको बाढीका कारण रोकिएको बङ्गलादेशतर्फको विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । मन्त्रालयका अनुसार बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात गर्न थालिएको हो ।

यससँगै नेपालले भारत र बङ्गलादेश दुवै बजारमा विद्युत् बिक्रीलाई निरन्तरता दिएको छ । विद्युत् उत्पादन बढ्दै जाँदा छिमेकी मुलुकमा निर्यात विस्तार गरी विदेशी मुद्रा आर्जन गर्ने नेपालको प्रयाससमेत अघि बढिरहेको छ ।