प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्की हटाइए, मनोजकुमार केसी नयाँ आईजीपी नियुक्त
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार अपराह्न मन्त्रिपरिषद् बैठक राखेर कार्कीलाई आइजीपीबाट हटाएका हुन् ।
काठमाडौं। सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार अपराह्न मन्त्रिपरिषद् बैठक राखेर कार्कीलाई आइजीपीबाट हटाएका हुन् ।
सरकारले कार्कीको ठाउँमा डा. मनोज केसीलाई आइजीपी बनाएको छ। दानबहादुर ठिक एक वर्षअघि अर्थात २०८२ कात्तिक २४ गते महानिरीक्षकमा बढुवा भएका थिए । करिब एक वर्षको कार्यकालमा कार्की विभिन्न विवाद र आलोचनामा परेका थिए । उनीमाथि निर्वाचन प्रहरीका लागि पोसाक खरिदमा अनियमितता गरेको आरोप लागेको थियो । प्रहरी संगठनको कमान्ड नियन्त्रण प्रभावकारी हुन नसकेको भन्दै पनि सरकारका तर्फबाट उनीमाथि प्रश्न उठाइएको थियो ।
प्रधानमन्त्री मातहतका व्यक्तिहरूको निर्देशनका आधारमा प्रहरी कमान्ड सञ्चालन गरेको भन्दै कार्कीको आलोचना हुँदै आएको थियो । यिनै विषयले उनको कार्यकालमा प्रहरी संगठनको नेतृत्व र कार्यशैलीबारे प्रश्न उठाएको थियो ।
सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ । केसीले प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् भने कार्कीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी पाउनेछन् ।