गगन थापा पक्राउको हल्लाबीच कांग्रेसले बोलायो पदाधिकारी बैठक

प्रहरी भन्छ– कुनै आदेश छैन

सभापति थापालाई प्रहरीले पक्राउ गर्ने हल्ला फैलिरहेका बेला कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो । खतिवडाले सभापति पक्राउ गर्ने कुनै आधार नरहेको दाबी गर्दै सरकारकै तर्फबाट कांग्रेसको आवाज कमजोर बनाउन अफवाह फैलाइएको आरोप लगाए ।

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापा पक्राउ पर्न सक्ने चर्चाबीच आज पदाधिकारी बैठक बोलाएको छ । सहमहामन्त्री रामहरि खतिवडाका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । सभापति थापालाई प्रहरीले पक्राउ गर्ने हल्ला फैलिरहेका बेला कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो । खतिवडाले सभापति पक्राउ गर्ने कुनै आधार नरहेको दाबी गर्दै सरकारकै तर्फबाट कांग्रेसको आवाज कमजोर बनाउन अफवाह फैलाइएको आरोप लगाए ।

‘सभापति पक्राउको आधार छैन, कांग्रेसको आवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ’, उनले भने । सरकारले चालेका विवादित कदमबारे कांग्रेसले यसअघि नै ६ बुँदे धारणा सार्वजनिक गरिसकेको पनि उनले बताए ।

यता, कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीले पनि सभापति पक्राउबारे फैलाइएको हल्लाको खण्डन गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू सरकारको भय र भ्रमबाट विचलित नहुने भन्दै काठमाडौँ आउँदै गरेको उल्लेख गरेका छन् ।

यसैबीच, सभापति थापालाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हालसम्म कुनै आदेश प्राप्त नभएको सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले आफू र आफ्नो कार्यालयलाई त्यस्तो कुनै निर्देशन नआएको स्पष्ट पारे ।

यद्यपि, थापाको सचिवालयले पछिल्लो दुई दिनदेखि सादा पोशाकका अपरिचित व्यक्तिहरूले निगरानी बढाएको दाबी गरेको छ । सचिवालयका एक सदस्यका अनुसार केही व्यक्तिहरू मोटरसाइकलमा थापाको पछिपछि लाग्ने गरेका छन् भने सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पनि अपरिचित व्यक्तिको आवतजावत बढेको छ ।

प्रहरी स्रोतका अनुसार पदमुक्त हुनुअघि तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ‘माथिको आदेश’ भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थापामाथि निगरानी राख्न निर्देशन दिएका थिए । तर, कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले बुधबार र बिहीबार सहकर्मीहरूलाई दिएको ब्रिफिङमा त्यस्तो कुनै निर्देशन उल्लेख नगरेको स्रोतको भनाइ छ । सभापति थापा पक्राउ पर्ने विषयमा चर्चा व्यापक भए पनि प्रहरीले औपचारिक रूपमा पक्राउसम्बन्धी कुनै आदेश प्राप्त भएको पुष्टि गरेको छैन ।