पार्टीको आधिकारिकताको विवादमा एक सुका पनि आर्थिक लेनदेन भएको छैन: गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै पनि आर्थिक लेनदेन तथा अनुचित काम नभएको स्पष्ट पारेका छन् ।

सभापति थापाले आज सामाजिक सञ्जालमार्फत श्रव्य सामग्री सार्वजनिक गर्दै इनम सापकोटासँग जोडिएको भन्दै सार्वजनिक भएको अडियोको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन् । पार्टीको आधिकारिकतासम्बन्धी विषयमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले उक्त प्रकरणलाई बदनियतपूर्ण हल्लाको संज्ञा दिएका छन् । पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको पनि उनले बताएका छन् ।

प्रहरी अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको श्रव्य सामग्री कहाँ, कहिले, कसले र कुन परिस्थितिमा बोलेको हो भन्ने आफूलाई जानकारी नभएको थापाले बताएका छन् । उक्त अडियोमा आफ्नो नाम जोडिएको विषयमा थप स्पष्टीकरण दिइरहन आवश्यक नभए पनि सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पारेको उनको भनाइ छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको मागसहित भएको विद्रोहका रूपमा व्याख्या गर्दै थापाले गत वर्ष भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनका लागि आफूहरू अघि बढेको बताएका छन् ।

पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन नगरेको दाबी गर्दै उनले एक सुका पनि अनुचित आर्थिक कारोबार नभएको स्पष्ट पारेका छन् ।“नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,” उनले भने ।

थापाले अडियो प्रकरणमा आफूलाई प्रश्न गर्नुभन्दा अनुसन्धान गर्नुपर्ने निकायसँग प्रश्न गर्न सञ्चारमाध्यम र सरोकारवालालाई आग्रह गरेका छन् । सापकोटासँग सम्बन्धित विषयमा निष्पक्ष अनुसन्धान गरी त्यसमा संलग्न सबै पक्षको भूमिका खोतल्नुपर्ने उनको भनाइ छ । “अनुसन्धान निष्पक्ष हुनुपर्छ । दूधको दूध, पानीको पानी छुट्टिने गरी छानबिन हुनुपर्छ,” उनले भने ।

अडियो सार्वजनिक भएपछि आफू डराएर राजनीतिक भेटघाटमा लागेको भन्ने प्रचारप्रति पनि थापाले आपत्ति जनाएका छन् । मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारको विश्वासको मतसम्बन्धी विषय र अन्य राजनीतिक संवादका क्रममा विभिन्न दलका नेताहरूसँग भेटघाट भएको उनले स्पष्ट पारेका छन् ।

आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक सन्दर्भमा भेटघाट गरेको थापाले बताएका छन् । ती भेटघाटलाई अडियो प्रकरणसँग जोडेर व्याख्या गर्नु उचित नभएको उनको भनाइ छ ।

थापाले वर्तमान सरकारले पाँच वर्षका लागि पाएको जनादेशलाई सम्मान गर्ने बताउँदै सरकारले विपद्पछिको पुनःस्थापना, घरबारविहीन नागरिकको व्यवस्थापन, अर्थतन्त्र सुधार, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

विपद्का कारण प्रभावित नागरिकको पुनःस्थापना, खुला स्थानमा बस्न बाध्य सुकुमबासीको व्यवस्थापन तथा कमजोर बन्दै गएको अर्थतन्त्र सुधार गर्नु सरकारको प्राथमिकता हुनुपर्ने उनले बताएका छन् । सरकारले सही काम गर्दा नेपाली कांग्रेसले सहयोग गर्ने र गलत काम गर्दा प्रश्न उठाउने उनको भनाइ छ । लोकतान्त्रिक अधिकार खुम्च्याउने तथा राज्यका संस्थाहरूलाई कमजोर बनाउने प्रयास भए आफूहरू चुप लागेर नबस्ने उनले स्पष्ट पारेका छन् । “ठीक कुरामा साथ दिने कुरा पनि बन्द हुँदैन, गलत कुरालाई प्रश्न गर्ने र प्रतिवाद गर्ने कुरा पनि बन्द हुँदैन,” उनले भने ।

आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गर्दै थापाले आफ्नो हात सफा रहेको र कुनै अनैतिक काममा संलग्न नभएको बताएका छन् । विगतमा पनि शक्तिशाली सरकारका गलत कामविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले अहिले पनि आफ्नो भूमिका नबदलिने स्पष्ट पारेका छन् ।

आफूविरुद्ध पटकपटक प्रायोजित प्रचार तथा चरित्रमाथि प्रश्न उठाउने प्रयास हुने गरेको दाबी गर्दै थापाले त्यसबाट विचलित नभई आफ्नो जिम्मेवारी निर्वाह गरिरहने बताएका छन् । “प्रश्न गर्ने अधिकार मर्नु हुँदैन । प्रश्न मरे लोकतन्त्र मात्र होइन, हाम्रो प्रगति पनि रोकिन्छ,” उनले भने ।

राजनीतिक विवाद र प्रायोजित हल्लाका कारण सही प्रश्न उठाउने प्रवृत्ति कमजोर हुन नहुनेमा पनि थापाले जोड दिएका छन् । प्रश्न गर्ने अधिकार र लोकतान्त्रिक अभ्यास सुरक्षित रहे मात्रै लोकतन्त्र तथा मुलुकको प्रगति सम्भव हुने उनको भनाइ छ।