तिहार र छठमा पेट्रोलियम पदार्थ अभाव नहुने, आयल निगमले १३ वटा डिपो खुला राख्ने

काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ । निगमले स्थानीय आवश्यकताका आधारमा देशभरका १३ कार्यालय तथा डिपो खुला रहने मिति सार्वजनिक गरेको हो ।

निगमले कात्तिक २३ र २६ गते विराटनगर तथा धनगढीस्थित प्रादेशिक कार्यालय खुला राख्ने जनाएको छ। अमलेखगञ्ज, थानकोट र वीरगंजस्थित कार्यालय कात्तिक २१, २३ र २६ गते खुला रहनेछन् ।

पोखरास्थित कार्यालय कात्तिक २२ र २३ गते खुला रहनेछ भने सुर्खेतस्थित कार्यालय कात्तिक २०, २२, २४ र २६ गते संचालन हुनेछ । नेपालगञ्ज र दाङस्थित इन्धन डिपो कात्तिक २३ गते खुला रहने निगमले जनाएको छ ।

जनकपुरस्थित इन्धन डिपो कात्तिक २३ र २६ गते खुला रहनेछ । झापाको चारआलीस्थित शाखा कार्यालय कात्तिक २१ र २६ गते तथा भैरहवास्थित प्रादेशिक कार्यालय कात्तिक २१, २२ र २६ गते खुला रहनेछ ।

त्यस्तै, दिपायलस्थित शाखा कार्यालय कात्तिक २३ र २६ गते खुला रहनेछ । पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए निगमको केन्द्रीय कार्यालयका सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।